ताला खुलाउन प्रधानमन्त्री भेट्दै उपकुलपति

बिजौरी । विगत तीन महिनादेखि लागेको ताला खुलाउन आग्रह गर्न नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका उपकुलपति प्राध्यापक यादव लामिछाने प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न काठमाडौं गएका छन् । ताला लगाउने विद्यार्थी संघर्ष समिति र नेपाल संस्कृत विश्वविद्यालयको वार्ता कार्यदलसँग भएको वार्ता सार्थक नभएपछि जिल्ला तहका राजनीतिक वृत्तमा पनि यो विषयमा वार्ता गरिएको थियो ।

यी दुवै वार्ता सार्थक बन्न नसकेपछि उपकुलपति लामिछाने काठमाडौं प्रस्थान गरेका हुन् । ‘डिनको कार्यालय, उपकुलपतिको कार्यालय, रजिष्टारको कार्यालय, रेक्टरको कार्यालय प्रशानिक कार्यालय लगायत सबै कार्यालयका ताला खुल्न सकेनन्, त्यसैले समस्याबारे कुलपतिज्यु सम्माननीय प्रधानमन्त्री ज्युलाई जानकारी गराउन काठमाडौंमा छौं’ उपकुलपति लामिछानेले भने । उपकुलपति तीन दिनअघि काठमाडौं पुगेको भए पनि प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण भेट हुन सकेको छैन ।

तालावन्दी नखुल्दा कर्मचारीहरुले विगत ३ महिनादेखि तलव पाएका छैनन् । विश्वविद्यालयको सम्पूर्ण प्रशासनिक, आर्थिक एवं प्राज्ञिक कार्यहरु रोकिएका छन् । बजेट रिलिज गर्न सकिएको छैन । सबै काम ठप्प भएपछि मुख्य ढोकाको ताला खुल्नु र नखुल्नुले कुनै अर्थ नराख्ने पनि उपकुलपति लामिछानेले बताए । तालाबन्दी नखुल्नुमा फेरी पनि कर्मचारी भर्नाको स्वार्थ जोडिएको बताइएको छ । यसमा कर्मचारीहरुको पनि कैफियत रहेको विश्वविद्यालयका एक जिम्मेवार अधिकारीले बताएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला तीन महिनासम्म पनि खुलेको छैन । ताला खोल्ने सन्दर्भमा रजिष्टार माधव अधिकारी नेतृत्वको वार्ता टोलीले काठमाडौँमा तालाबन्दी गर्ने संस्था नेपाल विद्यार्थी संघ आन्दोलन समितिका पदाधिकारीहरुसँग गरेको वार्ता असफल भएपछि पछिल्ला केही दिनयता वार्ता स्थानीय लेवलमा सुरु भएको बताइएको छ । त्यो प्रयास पनि विफल भएपछि उपकुलपति कुलपतिलाई भेट्न काठमाडौंमा छन् ।

नेपाल संस्कृत विश्वविद्यालय स्रोतकाअनुसार विद्यार्थीहरुले राखेका १४ वटा मागहरुमध्ये तीनवटा माग पूरा गर्नै नसक्ने भएपछि ताला खुल्न सकेको छैन । अघिल्लो वार्तामा विद्यार्थीहरुले राखेका मागहरुमध्ये विद्यार्थीहरुलाई २०० प्रतिशत छात्रवृत्ति वृद्धि गर्ने, सेवा आयोगले खोलेको विज्ञापन खारेज गर्ने तथा अनुसन्धान केन्द्र र केन्द्रीय पुस्तकालय काठमाडौंमा सार्ने सन्दर्भका मागहरु पूरा गर्न नसकिने विश्वविद्यालय पदाधिकारीले बताउँदै आएका छन् ।

तीन महिनाभित्र दिक्षान्त समारोहको आयोजना, छात्राबासको सटरबाट प्राप्त भाडाको तीस प्रतिशत रकम छात्राबासको विकासका लागि खर्च गर्न, महेश संस्कृत गुरुकुल र हरिहर गुरुकुल विद्यापीठ (सम्बन्धन प्राप्त)मा स्थायी प्राध्यापकहरुको दरबन्दी कायम हुनुपर्ने, विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको व्यवस्थापन गर्नुपर्ने, विद्यापीठमा प्रात्कालीन र सायमकालीन कक्षाको व्यवस्थापन गर्न, कार्यकारी परिषद् र विश्वविद्यालय पदाधिकारीमा लोकतान्त्रिक समूहको उपस्थिति गराउनुपर्ने, विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्ने, अवैज्ञानिक तवरले गरिएको उपप्राध्यापकको विज्ञापन खारेज गरी वैज्ञानिक अध्ययन गरी सर्वपक्षीय माग सम्बोधन गरी पुनः विज्ञापन हुनुपर्ने, सेवा आयोगको पुनर्गठनसहित भ्रष्ट पदाधिकारीको छानबिन गर्नुपर्ने, विश्वविद्यालयमा हुने आर्थिक अनियमितताको छानबिन गर्न छानबिन समिति गठन गर्नुपर्नेलगायतका मागहरु छन् ।

नेपाल विद्यार्थी संघले उठाएका १४ बुँदे मागहरुमध्ये आधा बढी मागहरु सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको हो । सहमतिअनुसार कार्यालयको मुलगेट र प्रशासन शाखालगायतका ठाउँका ताला खोले पनि उपकुलपति र रजिष्ट्रारलगायतका कार्यकक्षको ताला भने यथावत रहेको नेपाल विद्यार्थी संघले जनाएको छ । विद्यार्थीहरुको आउँदै गरेको परीक्षा र कार्यालयको दैनिक प्रशासकीय कार्य सञ्चालनलाई अवरोध नगर्ने उद्देश्यअनुसार दुई महिनादेखि गरिएको तालाबन्दी खोलेको भए पनि सबै माग पुरा नभएसम्म विभागीय तालाहरु नखोल्ने नेविसंघले बताउँदै आएको छ ।

तालाबन्दीका कारण विश्वविद्यालयले दूरगामी प्रभाव पर्ने खालका कुनै पनि निर्णय गर्न सकेको थिएनन् । त्यसैगरी बाह्र वर्षदेखि रोकिएको दिक्षान्त समारोह सम्पन्न गर्ने योजना अवरुद्ध भएको विश्वविद्यालयले जनाएको छ । त्यसैगरी पाठ्यक्रम लागू गर्ने निर्णय, एकीकृत हस्पिटलको निर्माणको प्रक्रिया अघि बढाउनेलगायत सम्पूर्ण पुँजीगत बजेट खर्च गर्नका लागि पनि समस्या उत्पन्न भएको विश्वविद्यालयले जनाएको छ । तालाबन्दीका कारण वि.सं. २०६७ सालदेखि थाती रहेको दिक्षान्त समारोह हुन सकेको छैन ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस