
तुलसीपुर । दाङको तुलसीपुर-१९ बिजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५० शैयाको बनाइने भएको छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारबाट बजेट आएको लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताए ।

उनकाअनुसार आवश्यक भौतिक पूर्वाधार निर्माण र औजार खरिदका लागि त्यस्तो बजेट आएको बताए । आइतबार अस्पतालको अनुगमन गर्दै मन्त्री चौधरीले चिकित्सालयमै औषधी उपचारका लागि समेत बजेट आएको उनले बताए । उनले आयुर्वेद चिकित्सा पद्धति घरको भान्साबाटै सुरु हुने भन्दै यो नागरिकलाई बुझाउन आवश्यक रहेको समेत बताए । ‘आयुर्वेद उपचार घरको भान्साबाटै सुरु हुन्छ,’ उनले भने ‘त्यसलाई हामीले नागरिक समक्ष बुझाउन आवश्यक छ ।’

आयुर्वेद उपचार पद्धतिबाट उपचार गर्दा त्यसको प्रभाव लामो समयपछि मात्रै देखिने भन्दै बिरामीले झट्टै सञ्चो हुने खालको उपचार पद्धति खोजेकाले आयुर्वेदलाई पनि झट्टै सञ्चो हुने औषधी तयार गर्नुपर्ने समेत बताए । ‘जटिबुटिबाटै एन्टिबायोटिककै रुपमा थुप्रै औषधीहरु बनाउन सकिन्छ,’ उनले भने ‘चिराइतो, निमको पातजस्ता कुराहरुले एन्टिबायोटिकका रुपमा गाउँघरमा प्रयोग गर्ने गरेका छन्, अब यसलाई आयुर्वेद अस्पतालबाट ब्यक्त गर्ने कुरा हो, यसतर्फ ध्यान दिनुपर्छ ।’

साथै गाउँ–गाउँमा रहेका बैद्यहरुको अभिलेख संकलन गरेर उहाँहरुको अनुभवजन्य, ब्यहारिकजन्य कुरालाई पनि उपचारसंग जोड्ने पर्ने मन्त्री चौधरीको भनाई थियो । त्यसका लागि उनले बैद्यहरुलाई तालिम प्रदान गर्ने समेत प्रदेश मन्त्रालयको तयारी रहेको बताए ।
मन्त्री चौधरीले आयुर्वेद औषधीहरु धेरै हुने भन्ने पनि गुनासो आएको भन्दै ति धेरै औषधीहरुलाई एउटैमा मिसाएर अलि थोरै बनाउन मिल्ने भएमा त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । ‘अहिले आयुर्वेद औषधी धेरै भयो भन्ने गुनासो छ,’ मन्त्री चौधरीले भन्नुभयो ‘त्यसैले धेरै औषधीलाई पिसेर एउटैमा बनाएर अलि थोरै बनाउन मिल्छ, भने त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।’

त्यस अवसरमा अस्पतालका निमित्त निर्देशक डा. सन्तोष कुमार ठाकुरले स्वास्थ्य संस्था सञ्चालन मापदण्डमा रहेर ५० शैयाको स्तरोन्नतिको काम गर्ने बताए । हाल चिकित्सालयमा दैनिक ५० देखि एक सयको हाराहारीमा विरामीहमरुले सेवा लिने गरेको समेत बताए । आयुर्वेद उपचार पद्धतिका आफ्नै विशेषता भएकाले पनि अहिले प्रदेशका विभिन्न जिल्लाबाट उपचारकालागि दाङ आउने गरेको बताए ।
साथै चालु वर्षभित्रै औषधी उत्पादनको काम समेत अगाडी बढाउने उनको भनाई छ । त्यसका लागि भवन निर्माणको काम भइरहेको र केही समयमा औजार खरिद गर्ने समेत बताए । साथै अस्पतालबाट ३ दिन शल्यसालक सेवा र ३ दिन स्त्री प्रसुती सेवा समेत सञ्चालन गर्ने तयारी रहेको समेत बताए ।

त्यस अवसरमा चिकित्सालय विकास समितिका अध्यक्ष कृष्णबहादुर बस्नेतले ४ जना चिकित्सकहरुको दरबन्दी रहेको भएपनि ३ जना मात्रै कार्यरत रहेको बताए ।
अस्पतालमा हाल पञ्चकर्मा, क्षारशुत्र, सल्ले, फिजियोथेरापी, ल्याब, एक्सरे, अल्ट्रासाउन्डलगायतका सेवा सञ्चालनमा छन् । चिकित्सालयको आफ्नै फार्मेसी भएकाले आयुर्वेद औषधीमा १५ देखि २० प्रतिशत छुट हुने गरेको छ । एउटा बिरामीले ३÷४ थरि औषधीहरु निःशुल्क पाउने गरेका छन् । अस्पतालमा दर्ता शूल्क पनि नलिने तथा सस्तोमा उपचार हुने भएपछि विरामीको आकर्षण बढेको हो ।