आजदेखि लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा टिकट र बेड निःशुल्क

दाङ । साउन १ गतेदेखि लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयावापत शुल्क नलाग्ने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरंग सेवा) र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेड (शैया) मा शुल्क नलिने घोषणा गरेको थियो ।

सोही घोषणा साउन १ गतेदेखि कार्यान्वयन हुन लागेको हो । ओपिडी र बेड निःशुल्क गर्न प्रदेश सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुका लागि अब रगत पनि निःशुल्क हुने भएको छ । रगत निशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सरकारले रगत निशुल्क गर्नका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । अस्पतालका तर्फबाट मेडिकल सुपेरिटेण्डेन्ट डा. इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस