उद्घाटनको तयारीमा सिस्नेका जुम्ल्याहा पुल

दाङ । समय नपुगेका जुम्ल्याहा हुन् यी । अहिले विधिवत रुपमा चल्नका लागि आतुर छन् । प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न भएका यी जुम्ल्याहा पुल संभवतः जिल्लामा पहिलो पटक देखिएको स्थानीयबासीको दावी छ ।

घोराही उपमहानगरपालिकाको कुइरेपानीदेखि सर्रा जोड्ने सडक । जुन सडकले कुइरेपानी क्षेत्रलाई पवित्र धाम धारपानी मन्दिरसम्म पनि जोड्छ । यो सडकलाई दामोदर सडकका नामले पनि चिनिन्छ । सोहि सडकखण्डको सिस्ने खोलामा निर्माण सम्पन्न भएका यो पुल उद्घाटन भने भएको छैन । निर्माण कम्पनीले सडक पुर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै कार्यालयले यो पुललाई विधिवत रुपमा उद्घाटनको चाँजोपाँजो मिलाउने छ ।

पुल निर्माण तोकिएको समयभन्दा अघिनै सम्पन्न भएपछि स्थानीयबासी पनि निकै खुसी छन् । ‘हामीले आशा गरेका थिएनौं, कि यी जुम्ल्याहा पुल यो बर्षा अघिनै निर्माण सम्पन्न भैसक्लान भनेर, तर निर्माण सम्पन्न भैसकेकोमा हामी निकै खुसी छौं’, स्थानीय आशाराम चौधरीले भने । खोला बढ्दा स्थानीयहरुलाई स्कुल पुग्न समेत समस्या हुन्थ्यो । तर अब यो बर्षादेखि यो समस्या टरेर गएको छ ।

एकै स्थानमा दुई वटा पुल निर्माण भएको देख्दा स्थानीयहरुले यसलाई जुम्ल्याहा पुलको नाम पनि दिएका छन् । पुल हेर्न आउनेहरु पनि बढेका छन् । टिकटक र फेबुकमा भाइरल भएका छन् यी पुलहरु । पुलमा पुग्दा दुई जोडिहरुले टिकटक बनाइरहेका देखिन्थे । फेसबुकमा तस्वीर देखेर पुल हेर्न आएको उनीहरुले बताए । स्थानीयबासीका अनुसार अहिले पुल हेर्न र तस्वीर खिचाउन दर्जनौं मानिसहरु आउने गरेका छन् ।

पुल निर्माणको ठेक्का एलाइट कन्स्ट्रक्शन कम्पनी काठमाडौं पाएको थियो । सन २०२२मा निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता सन २०२० मेमा भएको थियो । बढिमा २८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने समयावधि आउन अझै केहि महिना छ । तर निर्माण कम्पनीको कुशल क्रियाशिलताका कारण तोकिएको समय भन्दा अगावै पुल निर्माण सम्पन्न भएको स्थानीयबासीले बताएका छन् ।

पुल निर्माण्को काम सुरु भएलगत्तै मुलुकमा विश्वव्याधि कोरोना भाइरसको संक्रमणको महामारी फैलियो । कोरोना संक्रमणका कारण धेरै विकास निर्माणका परियोजनाहरु अवरुद्ध भए । कहिकतै पनि तोकिएको समयमा निर्माण सम्पन्न हुने अवस्था नआएपछि निर्माण व्यवसायी महासंघको आग्रहमा सरकारले मुलुकभरका विकाशे परीयोजनाको म्याद थप गर्यो । तर सिस्नेखोला पुल निर्माणको कामलाई भने कोरोनाको संक्रमणले कत्तिपनि असर गरेन । ‘हामी आफै संक्रमित भयौ, प्राविधिक कर्मचारीहरु पनि धेरै संक्रमित भएर साइटमै क्वारेन्टाइन निर्माण गरेर बस्यौं, तर हामीले काम भने कहिल्यै रोकेनौं’, एलाइट कन्स्ट्रक्शनका व्यवस्थापक अच्युत लम्सालले पत्रकारलाई बताए ।

मुलुकभर कोरोनाको संक्रमण भैरहंदा पनि पुल निर्माणका क्रममा यहांको स्थानीय सरकार र प्रहरी प्रशासनबाट काममा कुनै अवरोध नभएको निर्माण कम्पनीले जनाएको छ । दुवै पुल ३/३ स्पानका छन् । दुवै पुलको लम्वाइ ९०/९० मिटर रहेको परीयोजनामा उल्लेख गरिएको छ । पुल निर्माण मुल्य अभिवृद्धि कर सहित १९ करोड ६० लाख १४ हजार ७ सय ९९ रुपैया रहेको निर्माण कम्पनीले जनाएको छ ।

यसअघि घोराही—तुलसीपुर सडक खण्डको ग्वारखोलामा पनि तोकिएको समय अगावै पक्कि पुल निर्माण सम्पन्न भएको थियो । अन्य पुलहरु भने म्याद थप नभई सम्पन्न भएका थिएनन् ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस