प्रेस युनियनको केन्द्रीय पदाधिकारीमा रजौरे र रेग्मीको उम्मेदवारी घोषणा

तुलसीपुर । नेपाल प्रेस युनियनको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी बढ्न थालेको छ । युनियनको आगामी साउन ६ र ७ गते हुने नयाँ नेतृत्वका लागि आउन उम्मेदवारी घोषणादेखि चुनावी गतिविधि सक्रिय बनेका छन् ।

यसैक्रममा युनियनको केन्द्रीय पदाधिकारीमा दाङबाट पत्रकार नारायणी रजौरे र चेतन रेग्मीले उम्मेदवारी घोषणा गरेका छन् । रजौरेले पदाधिकारीमा र रेग्मीले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् ।

प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारिताका लागि आफुहरुले उम्मेदवारी दिन लागेको रजौरेले बताइन् ।

बिगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रजौरेले आफुले पदाधिकारीमा दावी गरेको र केही दिनमै पद सार्वजनिक गर्ने जानकारी दिइन् ।

रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहसचिव बालाराम खड्काले गरेका हुन् । नेपाली कांग्रेसको शुभेच्छुक पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको आगामी नेतृत्वका लागि नवौँ राष्ट्रिय महाधिवेशन साउन ६ र ७ गते हेटौडामा हुन लागेको छ ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस