
कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू चढ्ने गाडी स्वास्थ्य शाखालाई दिएका छन्।
नगर प्रमुखले चढ्नका लागि छुट्याइएको गाडी स्थानीयलाई वडामै गएर विशेषज्ञ सेवासहितको स्वास्थ्य उपचारको व्यवस्था गर्न विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकमा प्रयोग गर्ने गरी दिइएको हो।
नगरप्रमुख हमालको उपस्थितिमा उक्त गाडी बुधबार उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको हो।
यसअघि नै धनगढी उपमहानगरपालिकाले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन गर्न भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले ५ वर्षसम्म दुई जना विशेषज्ञ डाक्टरको तलब र भत्ता प्रदान गर्ने सम्झौता भएको छ। यसैगरी सामाजिक विकास मन्त्रालयले स्वास्थ्य उपकरण सहयोग गरेको छ।
यही साउन १ गतेबाट धनगढी उपमहानगरपालिकाको हरेक वडामा तालिका अनुसार विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन हुनेछ। उक्त वडा स्वास्थ्य क्लिनिक सञ्चालनका लागि उक्त गाडी प्रयोग हुनेछ।
यसअघिका मेयरले उक्त गाडी चढ्दै आएपनि तलब, भत्ता नलिने र आफ्नै गाडी चढ्ने वाचाअनुरुप मेयर हमाल आफ्नै गाडी चढ्दै आएका छन्।