नेपालमा देखियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको पुष्टि गरे ।

‘अन्य प्रयोगशालाबाट आएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ओमिक्रोनको उपप्रजाति देखिएको छ,’ डा. श्रेष्ठले भने,’ यसले ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ फैलिएको छ भन्ने देखाउँछ ।’

उनका अनुसार संक्रमित व्यक्तिको ‘हिस्ट्री’ भन्ने खुल्न सकेको छैन । अन्य प्रयोगशालाबाट संकलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको अस्पतालले जनाएको छ । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुन बढिरहेको छ ।

दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप, अमेरिका, जमनी लगायतका देशमा बढी संक्रमण फैलाइरहेको छ । जनस्वास्थ्यविद्हरू स्थिर रहेको संक्रमित संख्या दुई सातायता झण्डै चार गुणाले बढ्नुमा ‘बीए फाइभ’ले मद्धत पुर्‍याएको बताउँछन् ।

अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस