बेलझुण्डी । बाह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । झिनो उपस्थितिबीच शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको बेलझुण्डीस्थित रंगशालामा विधिवत्रुपमा सुभारम्भ भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले खेल क्षेत्रको स्वामित्व र अपनत्व लिन प्रदेश सरकार तयार रहेको अभिव्यक्ति दिएका छन् । ‘खेल क्षेत्रमा अझै पनि केन्द्रिकृत अधिकारको विकेन्द्रीकरण हुन सकेको छैन, संघीय संरचनाले अधिकार जमाइरहेको छ, त्यसलाई जवर्जस्त रुपमा तोडेर खेल क्षेत्रको अधिकार प्रदेश सरकारले लिदै छौं’, प्रमुख अतिथि चौधरीले भने ।
साथै उद्घाटन कार्यक्रममा खेल क्षेत्र एउटा टिम विल्डिङको क्षेत्र भएकाले यसले राष्ट्रिय एकतालाई समेत मजबुत बनाउने बताए । उनले बेलझुण्डी रंगशालाको जिर्णोद्वार तथा निर्माण भैसकेका संरचनाको संरक्षणमा प्रदेश सरकारले कार्यविधि बनाएर ओनरसिप लिन थालेको पनि खुलासा गरे । ‘अब यो रंगशाला र जिल्ला खेलकुद विकास समितिको पनि ओनरसिप हामीले लिने छौं’, प्रमुख अतिथि चौधरीले भने, जिर्णोद्वार भवन मर्मतका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने छ । साथै उनले खेल क्षेत्रमा संघीयता कार्यान्वयनमा ल्याउन र जिल्ला समन्वय समितिको काम कर्तव्य र अधिकारलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार लागिसकेको पनि उनको अभिव्यक्ति थियो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक प्रमुख स्यानी चौधरीले तुलसीपुर उपमहानगरपालिकाले खेल क्षेत्रमा आवश्यक मात्रामा बजेट विनियोजन गर्दै आएको बताएकी छिन् । साथै उपमहानगरपालिकाको क्षेत्रमा रहेका खेल संरचनाहरुको ओनरसिप लिन पनि उपमहानगरपालिका तयार रहेको उनको अभिव्यक्ति थियो । ‘खेल क्षेत्रलाई जगाउन अब स्थानीय सरकार लाग्नुपर्छ, यो रंगशालालाई खेलाडीहरुको कुम्भ भेलाकारुपमा स्थापित गर्ने हामीले तयारी गरिसकेका छौं, कार्यवाहक मेयर चौधरीले कार्यक्रममा भनिन् ।
अर्का विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव जयप्रकाश भट्टराईले दाङ जिल्ला खेल क्षेत्रको एरीना भएपनि पछिल्लो समयमा खेलजगत अग्रगामि लक्ष्यमा पुग्न नसकेको बताए । उनले अझै पनि खेल क्षेत्रमा संघीयता आइनसकेको बताउंदै खेलकुद क्षेत्रमा देखिएको केन्द्रिकृत अभ्यासलाई संघीयताको संरचनामा ल्याउन पनि कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश मन्त्री चौधरीको ध्यानाकर्षण गराए । उनले यहाँको खेल जगतले प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पनि दाङ जिल्लाले आफ्नै पहिचान बनाइसकेको बताए । यस्तो खेल जगतको उर्वर भुमि अर्थात् खेल क्षेत्रको कुम्भ मेला हुने स्थानमा खेल क्षेत्र भने उत्साहित बन्न नसकेको पनि उनको अभिव्यक्ति थियो ।
साथै कार्यक्रममा विशिष्ट अतिथि भट्टराईले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता पनि दाङमै हुने बताए । ‘हामीले विधिवतरुपमा निर्णय पनि गरिसकेका छौं, यसै महिनाको २४ गतेदेखि २६ गतेसम्म प्रदेश स्तरीय खेलकुद प्रतियोगिता पनि यहि जिल्लामा हुने छ’—प्रदेश सदस्य सचिव भट्टराईले भने ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले खेल क्षेत्र स्वास्थ्य, अनुशासन र राष्ट्रियतासँग पनि जोडिएको बताउंदै यो क्षेत्रलाई अझै सशक्तरुपमा लैजान वडा तहदेखि संघीय सरकार सम्म क्रियाशील हुने बताए । साथै उनले जिल्लाको खेल गरीमालाई थप बलियो बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको उत्पादन थलो दाङलाई बनाउन आफुले तीनै तहका सरकार तथा समस्त खेलक्षेत्रसँग समन्वयकारी भूमिका निर्वाह गर्ने अभिव्यक्ति दिए ।
दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष तथा खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ६ विधाका खेलमा खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भलिवल, एथ्लेटिक्स, कराते, कवडी, तेक्वान्दो खेलहरु हुने भएका छन् । प्रतियोगितामा स्थानीय तहबाट छनौट भएका खेलाडीहरुले भाग लिन पाउने छन् ।
स्थानीय तहमा यो प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने काम सम्पन्न भैसकेको छ । निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागी भएका छन् । हरेक बर्ष आयोजना हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता कोरोना भाइरसको संक्रमणका कारण विगत दुई बर्ष आयोजना हुन सकेको थिएन । प्रतियोगितामा उसु समावेश भए पनि जिल्लामा खेल मैदान अभावका कारण उसु भने हुने छैन ।