मतदाता नामावली दर्ता फारम अनलाइनबाट भर्न सकिने

काठमाडौं । मतदाता नामावली दर्ताका लागि अब अनलाइनबाटै भर्न सकिनेछ । निर्वाचन आयोगले अनलाइन प्रणाली उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

आयोगले नामावली दर्ताका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जानकारी दिए ।

हाल बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआरएस)मार्फत नामावली दर्ता भइरहेको छ । उक्त प्रणालीलाई स्तरोन्नति गर्न लागेको आयोगले जनाएको छ ।

उनले सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउने बताए ।

मोबाइलबाटै आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा नम्बर उपलब्ध गराइनेछ । सो नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ ।

आयोगको सूचना प्रविधि शाखाका उपसचिव आदेश खड्काले केही दिनभित्रै नामावली दर्ता सफ्टवेयर सञ्चालनमा आउने जानकारी दिए । सफ्टवेयरका लागि आयोगले करिब १७ लाख रुपियाँ खर्च गरेको छ ।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस