बिजौरी । तुलसीपुर उमहानगरपालिका वडा नं. १९ बिजौरी स्थित प्रदेशिक आयुर्वेद चिकित्सालयमा स्वास्थ्यकर्मीहरुको लागि सात दिने थेरापेटिक योग सुरु भएको छ । असार ९ गतेदेखि सुरु भएको योग १५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका नि. निर्देशक डा. सन्तोष कुमार ठाकुरको अध्यक्षता तथा स्वास्थ्य तालिम केन्द्र वुटवलका नि. निर्देशक नोद नारायण चौधरीको विशष्टि आतिथ्यमा सुरु भएको योग कार्यक्रममा २० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले योगको माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ भइ नसर्ने रोगको जोखिम न्युनीकरण गर्न सकिने कुरा बताएका थिए । साथै स्वस्थ्यले व्यक्तिको स्वास्थ्यको रक्षा गर्ने र रोगी व्यक्तिको रोगको निवारण गर्ने, मोटापना, मधुमेह, उच्चरक्तचाप, मुटुरोग आदि रोगको रोकथामको लागि नित्य योग गर्नुपर्नेमा जोड दिएका थिए ।
डा. उमेश केसीको स्वागत मान्तव्यबाट सुरु भएको योग कार्यक्रमको सञ्चालन स्वास्थ्य तालिम केन्द्रमा कार्यरत डा. दिपक आचार्यले गरेका थिए ।
उक्त सात दिने योगमा लुम्बिनी प्रदेशका सबै जिल्लाबाट स्वास्थ्यकर्मीहरु सहभागिता रहेको छ ।