अभिभावककै कारण बालबालिका श्रम गर्न बाध्य

तुलसीपुर । अभिभावकहरुकै कारण बालबालिकाहरु श्रम गर्न बाध्य रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले अभिभावकहरुले बालबालिकाका आधारभूत आवश्यकता पूरा नगर्ने र विद्यालयमा नपठाएकै कारण बालबालिकाहरु श्रम गर्न बाध्य रहेको बताए ।

विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा महिला बालबालिका तथा सामाजिक विकास शाखा र न्युसिपिसिको आयोजनामा बालश्रम न्यूनीकरण सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो  ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता तथा नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि खड्काले प्रत्येक बालबालिकाहरुलाई शिक्षालयसँग जोडे बालश्रम अन्त्य हुने बताए । उनले १२ देखि १८ वर्ष उमेरका बालबालिकाहरु कुलतमा फस्ने भएकाले ती उमेरका बालबालिकाहरुलाई अभिभावक, समुदाय, सरकार सबैले विशेष निगरानीमा राख्नुपर्ने बताए ।

उपप्रमुख स्यानी चौधरीले १८ वर्षसम्मका प्रत्येक बालबालिकाहरुलाई शिक्षालयमा अनिवार्यरुपमा जोड्न सके बाल श्रमको अन्त्य हुने बताइन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बालबालिकाहरुलाई अधिकारको साथमा समुदायले कर्तव्यबोध गराउनुपर्ने बताए ।

कार्यक्रममा बाल अधिकारकर्मी नवराज लामिछानेले तुलसीपुर क्षेत्रमा बालबालिकाहरु यातायात, निर्माण, उद्योग, बधशालालगायतका क्षेत्रमा बाल श्रमिककारुपमा रहेको बताए । बालबालिकाहरु बसाइसराई, कक्षामा अनुत्तीर्ण, गरिबीका कारण विद्यालय छाड्न बाध्य हुनुपरेको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाका सबैभन्दा पहिले वडा नम्बर ६ बालश्रम मुक्त वडा घोषण गरिएको थियो । हालसम्म १,२ र ६ बालश्रम मुक्त घोषणा भएका छन् भने १८ र १७ बाँकी रहेका छन् । वडा नम्बर १८ घोषणाको अन्तिम तयारीमा रहेको छ । कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखाका प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस