बन्चरेडाँडामा फोहोर लग्न प्रहरी परिचालन

काठमाडौं । स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको छ । सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ–ठाउँमा रोकेका थिए ।

प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार फोहोर बोकेका गाडी अवरोध गर्ने केही स्थानीय वासिन्दालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘दिउँसोसम्म प्रहरीले अवरोध हटाउँछ, र फोहोर सोमबारको सहमति अनुसार बिसर्जन हुन्छ,’ ती अधिकारीले भने,’अब प्रहरी लगाएरै भएपनि फोहोर उठाउँछौं ।’

यसअघि मेयर बालेन साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति केही स्थानीयबासीले नमान्ने बताएपछि मेयर साहले प्रहरी परिचालनमा सहमति जनाएको ती अधिकारीले बताए ।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस