काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले यौन हिंसाको मुद्दामा हदम्याद हुनुपर्ने बताएकी छन् ।
सोमबार प्रतिनिधिसभामा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको प्रारम्भिक छलफलमा बोल्दै उनले भनिन्, ‘हदम्याद नराखे मन मिलेसम्म ‘लभ’ भन्ने र मन नमिलेपछि ‘बलात्कार’ भन्ने प्रवृत्ति बढ्ने बताइन् ।
पछिल्लो समय आएका घटनाहरु पनि उल्लेख गर्दै उनले हदम्यादको आवश्यकतामा जोड दिइन् । ‘यदि हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ । अनि न्याय कसरी पाउँछन् ? यो दृष्टिकोणबाट पनि हामीले हेर्न जरुरी छ ।’
महिला भएर महिलाको विरोध गरेको भनेर आफूलाई नभन्न पनि उनको आग्रह छ । ‘मलाई महिला हो महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म एउटा सांसद हुँ, देशको लागि कानुन निर्माण गर्न आएका छौं । यो कुरा बुझ्नुपर्छ, यो हेक्काका साथ मैले कुरा राखिराखेको छु’ चौधरीले भनिन् ।
महिला हो भन्दैमा महिलाको भावनामात्र बुझ्ने नभएर पुरुषको भावना पनि बुझेर कानुन बनाउनुपर्ने उल्लेख गर्दै उनले आफूले धेरै पुरुषहरू पीडित देखेको बताइन् ।