दाङमा लागुऔषध (खैरो हिरोईन)सहित २ जना पक्राउ

घोराही । दाङमा अवैध लागुऔषध (खैरो हिरोईन) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गएराति पौने ९ बजेको समयमा घोराही–१५ शान्तिनगर टोलस्थित रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलबाट प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा लागु औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनामा आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिगएको टोलीले रुकुम पूर्वको पुथा–उत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई खानतलासी गर्दा ६ वटा प्लाष्टिकको टुक्रामा राखेको २ ग्राम ३० मिलीग्राम खैरो हिरोइन बरामद गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस