
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०–१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकासिएको थियो । डा= युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो ।
त्यसलाई हटाउन माग हुँदै आए पनि सरकारले बेवास्ता गर्दै आएको थियो ।