मंसिरमा आम निर्वाचन, विद्युतीय मतदानको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले ढिलोमा आगामी १० मंसिर भित्र मतदान सक्नेगरी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको अनौपचारिक तयारी थालेको छ । २१ मंसीर २०७९ मा प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुको पदावधि सकिने भएकाले त्यसअघि नै नयाँ सांसद निर्वाचित हुनेगरी आयोगले आन्तरिक तयारी थालेको हो ।

‘दुई चरणमा भए ढिलोमा मंसिर १० गतेभित्र, एकै चरणमा भए त्यसअघि सकिने गरी निर्वाचनको तयारी गर्नुपर्ने देखिन्छ’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘कानून अनुसार हेर्दा २२ मंसिरपछि अहिलेका सांसदहरु (प्रतिनिधि सभा र प्रदेश सभा)को पदावधि सकिन्छ । त्यसभन्दा अघि नै नतिजा आउने गरी निर्वाचन हुनुपर्ने देखिन्छ ।’

२२ मंसिरपछि अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाको अवधि सकिने, त्योभन्दा ज्यादा अघि पनि दशैंतिहार जस्ता चाडवाड पर्ने भएकाले मंसिर लागेपछि १०/१२ गतेभित्र निर्वाचन हुनेगरी आयोगले तयारी थालेको हो ।

निर्वाचनको तयारीका लागि मतदानको मितिभन्दा कम्तिमा १ सय २० दिनअघि निर्वाचनको मिति घोषणा हुनुपर्ने मान्यता छ । आयोगले ९० देखि सय दिनमा पनि निर्वाचन गर्न सकिने भनी स्थानीय निर्वाचनमा मिति तोक्न सरकारलाई दबाब दिएको थियो ।

निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाले काठमाडौं उपत्यका र बाहिर महानगरपालिका रहेका जिल्लामा विद्युतीय मतदान गराएर आवश्यक पर्ने पूर्वाधार र स्रोतसाधनको गृहकार्य गरिरहेको छ । आयोगले काठमाडौं उपत्यकासहित महानगरपालिका रहेका जिल्लामा विद्युतीय मतदानको प्रस्ताव सरकारलाई बुझाउने तयारी गरेको हो ।

आयोगका एक प्राविधिकका अनुसार, प्रस्ताव अघि बढेमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ, पर्सा र कास्कीमा विद्युतीय मतदान आवश्यक पर्नेछ । आयोगले प्रस्ताव उपयुक्त लागेमा विद्युतीय मतदान यन्त्र खरिद गरिदिन सरकारलाई प्रस्ताव पठाउनेछ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी एउटा मतदान केन्द्रमा चारवटा मेसिन आवश्यक पर्नेछ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस