जीवनोपयोगी शिक्षा दिन नगरप्रमुखको आग्रह

बिजौरी । तुलसीपुरकै पुरानो मानिने तुलसीपुर उपमहानगरपालिका—१८ बिजौरीस्थित जनता संस्कृत माध्यमिक विद्यालयले विहीबार आफ्नो ७२औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले समयानुकुल सूचना प्रविधि, प्राविधिक शिक्षालाई अवलम्वन गर्दै संस्कृत शिक्षालाई भने निरन्तरता दिन आग्रह गरे ।

प्रमुख अतिथि खड्काले आफु स्वयम् कक्षा ९ सम्म यही विद्यालयमा पढेको बताउँदै समयले अहिले संस्कृत शिक्षाको आवश्यकता बोध गराइरहेको बताए । ‘जिविकोपार्जनका लागि प्राविधिक शिक्षा र सूचना प्रविधिमा पहुँच नितान्त आवश्यक छ, तर यस विद्यालयले संस्कृत शिक्षाको एउटा इतिहास बोकेकाले संस्कृत शिक्षालाई पनि निरन्तरता दिन आग्रह गर्दछु’—मेयर खड्काले भने ।

उनले संस्कृत शिक्षा जीवन पद्धति र सुसंस्कृतिसँग पनि जोडिएको बताउँदै हरेक नागरिकलाई संस्कारी र विद्धत बनाउन संस्कृत शिक्षा अपरिहार्य रहेको बताए । साथै उनले हाल विद्यालयले सञ्चालन गर्दै आएको कृषि प्राविधिक कक्षालाई पनि निरन्तरता दिन आग्रह गर्दै त्यसमा स्थानीय सरकारका तर्फबाट विशेष सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा अर्का जनप्रतिनिधि तथा तुलसीपुर उपमहानगरपालिका—१८ का वडाध्यक्ष माधव वलीले विद्यालयमा गुणस्तरीय शिक्षासँगै सुशासन कायम गर्न विद्यालय परिवारलाई आग्रह गरे ।

आफ्नो वडामा रहेका विद्यालयहरुलाई गुणस्तरीय शिक्षाको थलो बनाउन वडा कार्यालय लागि परेको भन्दै उनले अब सामुदायिक विद्यालयमा रहेका इसिडि कक्षालाई मन्टेश्वरी कक्षाकारुपमा रुपान्तरण गरिने बताए । सामुदायिक विद्यालयमा शिक्षकहरुलेनै राम्रो सिकाइ विकास गर्न नसक्दा धेरै विद्यार्थीहरु अनुत्तीर्ण भएको बताउँदै शैक्षिक सुधारका लागि अब स्थानीय सरकारले इन्टेलिजेन्ट व्युरो हरेक विद्यालयमा खटाइने पनि बताए ।

कार्यक्रममा विद्यालयका प्राधानाध्यापक पदम रावतले विद्यालयको वार्षिक एवं सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर डाँगीले विद्यालयका भावि योजनाका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

सो अवसरमा विद्यालयका पूर्व व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कृष्ण बहादुर केसी, अक्षयकोष स्थापनाकर्ता राधादेवी आचार्य, विद्यार्थी मणिकृष्ण पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा विद्यालयले प्रकाशन गरेको स्मारीका विमोचन गरिएको थियो । सो स्मारिकाको पद्मोदय पव्लिक नमुना मावि भरतपुरका प्राचार्य रामप्रसाद जैसीले गरेका थिए । वार्षिकोत्सवमा विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगीलाई पुरस्कृत समेत सो अवसरमा गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत एवं अक्षयकोष स्थापनाकर्तालाई दोसल्लाले सम्मान पनि गरिएको थियो । वार्षिकोत्सव कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक मेघराज आचार्य र टिकाराम पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस