खुलेन ताला, चलेन विश्वविद्यालय

बिजौरी । नेपाल विद्यार्थी संघ, नेपाल संस्कृत विश्वविद्यालय संघर्ष समितिले विभिन्न विद्यापीठमा भएका समस्यालाई समाधानको माग गर्दै उपकुलपति समक्ष आग्रह गरे पनि माग पुरा नभएको भन्दै गत बैशाख १९ गतेदेखि लगाएको ताला अझै खुलेको छैन । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाएको तालाबन्दीले विश्वविद्यालयका सम्पूर्ण गतिविधि चल्न सकेका छैनन् ।

तीन महिनाभित्र दिक्षान्त समारोहको आयोजना, छात्राबासको सटरबाट प्राप्त भाडाको तीस प्रतिशत रकम छात्राबासको विकासका लागि खर्च गर्न, महेश संस्कृत गुरुकुल र हरीहर गुरुकुल विद्यापीठ(सम्बन्धन प्राप्त)मा स्थायी प्राध्यापकहरुको दरबन्दी कायम हुनुपर्ने, विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको व्यवस्थापन गर्नुपर्ने, विद्यापीठमा प्रातकालीन र सायमकालीन कक्षाको व्यवस्थापन गर्न, कार्यकारी परीषद र विश्वविद्यालय पदाधिकारीमा लोकतान्त्रिक समुहको उपस्थिति गराउनुपर्ने, विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्ने, अबैज्ञानिक तवरले गरिएको उपप्राध्यापकको विज्ञापन खारेज गरी वैज्ञानिक अध्ययन गरी सर्वपक्षीय माग सम्बोधन गरी पुनः विज्ञापन हुनुपर्ने, सेवा आयोगको पुर्नगठन सहित भ्रष्ट पदाधिकारीको छानबिन गर्नुपर्ने, विश्वविद्यालयमा हुने आर्थिक अनियमितताको छानबिन गर्न छानबिन समिति गठन गर्नुपर्ने लगायतका मागहरु छन् ।

विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीका कारण विश्वविद्यालयले दुरगामी प्रभाव पर्ने खालका कुनै पनि निर्णय गर्न सकेको छैन । बाह्र वर्षदेखि रोकिएको दिक्षान्त समारोह सम्पन्न गर्ने योजना अवरुद्ध भएको विश्वविद्यालयले जनाएको छ ।

त्यसैगरी पाठ्यक्रम लागुगर्ने निर्णय, एकीकृत हस्पिटलको निर्माणको प्रक्रिया अघि बढाउने, लगायत सम्पूर्ण पूँजीगत बजेट खर्च गर्नका लागि पनि समस्या उत्पन्न भएको विश्वविद्यालयका पदाधिकारीहरुले बताएका छन् ।

विश्वविद्यालयले केहि माग पुरा हुन सक्ने बताए पनि विद्यार्थी संघर्ष समितिले राखेका सबै मागहरुलाई विश्वविद्यालय स्वयमले चाहेर पनि पुरा गर्न नसक्ने विश्वविद्यालय उपकुलपति प्राध्यापक यादव लामिछानेले बताएका छन् । ‘केहि माग त अत्यन्तै अस्वाभाविक रहेका छन्, जस्तो कि हाम्रो आंगिक क्याम्पस नभएर सम्बन्धन प्राप्त विद्यापीठमा पनि स्थायी दरवन्दी हामीले चाहेर पनि पुरा गर्न सक्दैनौं, सेवा आयोगको पुर्नगठन हाम्रो नभएर सरकारको दायित्व हो’, उपकुलपतिले साक्षी खबरलाई भने । विश्वविद्यालय विगत ५ बर्षदेखि स्मुथली सञ्चालन भैरहेको अवस्थामा पछिल्लो समयमा भएको तालावन्दीका कारण फेरी एक महिनादेखि ठप्प रहेको पनि उनको बुझाइ थियो । तैपनि यो विषयमा आफुहरु गम्भीर रहेको उनले बताएका छन्  ।

तालावन्दी गर्ने विद्यार्थी संगठनसँग अनौपचारिक छलफल भएको छ, औपचारिकरुपमा वार्ता र संवादलाई अघि बढाउन विश्वविद्यालयका रजिष्टारको संयोजकत्वमा एउटा ५ सदस्यीय कार्यदल बनेको छ’, उपकुलपति लामिछानेले भने । रजिष्टार माधव अधिकारीको संयोजकत्वमा प्रगतिशील प्राध्यापक संघका प्रतिनिधि, प्रजातान्त्रिक प्राध्यापक संघका प्रतिनिधि, राष्ट्रिय प्राध्यापक संघका प्रतिनिधि तथा कर्मचारी युनियनका प्रतिनिधि सदस्य सचिव रहनेगरी वार्ता कार्यदल बनेको पनि उनले बताए । चाँडै यो समस्यालाई समाधान गर्नेमा वार्ताटोलि निकै गम्भीररुपमा प्रस्तुत हुने पनि उनले बताएका छन् ।

यद्यपि वार्ता टोलिले अहिलेसम्म वार्ता सुरु गरेको भने छैन । विश्वविद्यालयमा निरन्तर तालावन्दी हुनथालेपछि उच्च अदालत तुलसीपुरले करीव ५ बर्ष अघि विश्वविद्यालयमा प्राध्यापक कर्मचारीले कुनै पनि माग राखेर तालावन्दी गर्न नपाइने फैसला गरेको थियो । तर विद्यार्थी संगठनले गरेको तालावन्दीका सन्दर्भमा फैसलाले केहि बोलेको छैन । यहि कारण विश्वविद्यालय प्रशासनले ताला फोर्ने हैसियत राखेको छैन ।

तालावन्दी खासमा विश्वविद्यालय कार्यकारी परीषदमा २ जना लोकतान्त्रिक प्राध्यापक राख्नेमा बढि केन्द्रित भएको बताइएको छ । तर पदाधिकारीहरुले लोकतान्त्रिक प्राध्यापक संगठनको एक जनालाई र गठवन्धन मध्येबाट माओवादी निटक प्राध्यापक एक जनालाई कार्यकारी परीषदमा ल्याउने प्रस्ताव राखेको थियो । तर सिनेट सभामा यो विषयमा कुनै निर्णय हुन सकेन । हालसम्म पनि यो विषयमा पदाधिकारीहरु सकारात्मक बन्ने र लोकतान्त्रिक प्राध्यापकबाट दुई जनालाई कार्यकारी परीषदमा लैजाने अवस्था भने देखिएको छैन । यहि कारण विद्यार्थीहरुका गम्भीर मागलाई सम्बोधन गर्नका लागि एउटा कार्यदल निर्माण गरिएको हो ।

त्यसैगरी विद्यार्थीहरुले राखेको दिक्षान्त समारोहको मागलाई सम्बोधन गर्नका लागि पनि तालावन्दी जारीरहेकै अवस्थामा असम्भव रहेको पनि नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीहरुले बताएका छन् । वि.सं २०६७ सालदेखि थाती रहेको दिक्षान्त समारोह यसैबर्ष सम्पन्न गर्नका लागि विश्वविद्यालयको संबन्धित ईकाइले काम थालिसकेको थियो । तर तालावन्दीका वेला यी सवै काम गर्न नसकिएको पनि पदाधिकारीहरुको दावी रहेको छ । ‘दिक्षान्त समारोहलाई यहि बर्ष सम्पन्न गर्नका लागि पदक बनाउने काम भैरहेको थियो, तर तालावन्दीका कारण यो अभियान समेत अवरुद्ध भएको छ’, उपकुलपति लामिछानेले भने । विद्यार्थीले राखेका सबै माग पुरा होलान् ? अनि खुल्ला विश्वविद्यालय, विश्वविद्यालयका कर्मचारीहरुनै अन्योल र अलमलमा परेका छन् ।
साक्षी खबरबाट

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस