जहाज दुर्घटनास्थलबाट कोही जीवित भेटेनौं : शेरचन

काठमाडौं । तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्द्रसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् ।

टेलिफोन सम्पर्कमा आएका उनले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको बताए ।

उनका अनुसार पाइलटको मोबाइल फोन लोकसेन र विमानको जिपीएसको आधारमा त्यसक्षेत्रमा दुर्घटनाग्रस्त विमानको खोजी भइरहेको थियो । तर आइतबार अन्धकारका कारण खोजी सम्भव नभएको भन्दै नेपाली सेनाको खोजी तथा उद्धार टोली जोमसोम फर्किएको थियो ।

‘शवहरु जलेको अवस्थामा छैनन्, क्षतविक्षत भए पनि कतिपय अनुहार चिन्न सकिने अवस्थामा छ,’ उनले थपे, ‘यो गत २८ कात्तिकमा हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा सानोशेरे भन्ने स्थान हो ।’

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो ।

नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस