१२ वर्षमुनिका बालबालिकाका लागि ८४ लाख फाइजर खोप आउँदै

काठमाडौं । सरकारले पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आगामी असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ ।

कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप निःशुल्क प्राप्त हुने भएपछि सरकारले असार १५ देखि दिने तयारी गरेको हो ।

पहिलो चरणमा १५ लाख खोप असार १५ भित्र आइसक्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए ।

कोरोनाविरुद्ध खोप अभियानमा नेपालले उल्लेखनीय प्रगति गरेको भन्दै कोभ्याक्स कार्यक्रम अन्तर्गत बालबालिकालाई निःशुल्क खोप उपलब्ध भएको डा. मरासिनीको भनाइ छ ।

उनका अनुसार ५६ जिल्लामा फाइजर खोप पहिलोपटक सञ्चालन हुने भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिने काम भइरहेको छ ।

स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार पाँचदेखि ११ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिका छन् । उनीहरूलाई दुई मात्रा पुग्ने गरी ८४ लाख मात्रा खोप निःशुल्क आउने छ । कोभ्याक्सले बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराएको विश्वमा नेपाल पहिलो देश हो ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस