घोराही । यस वर्षको कृष्णसेन इच्छुक स्मृति दिवस मनाइएको छ । दिवकास सन्दर्भ पारेर शुक्रबार दाङका ६ जना पत्रकारलाई सम्मान गरिएको छ । ‘इच्छुक’ को २० औँ स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा र प्रेस सेन्टर नेपाल दाङले आयोजना गरेको कार्यक्रममा दाङमा कृयाशील ६ जना पत्रकारलाई सम्मान गरिएको हो ।
पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापित कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७९ बाट रेडियो मध्यपश्चिमकर्मी सुशीला आचार्य र नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्यलाई सम्मान गरिएको हो ।
त्यसैगरी यस वर्षको लोककुमारी स्मृति पत्रकारिताबाट नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य केशरमान बुढाथोकी, प्रेस सेन्टर नेपाल, दाङ, कृयाशील पत्रकारिता पुरस्कारबाट रेडियो मध्यपश्चिमको समाचार शाखामा कार्यरत हेमराज परिवर्तन र तुलसीपुर शाखा सहसचिव सुमन केसीलाई सम्मान गरिएको हो ।
त्यस्तै, सेन्टरले यसवर्ष प्रेस सेन्टर प्रोत्साहन पत्रकारिता पुरस्कार संगठका गढवा पालिका अध्यक्ष पुष्पा पौडेललाई प्रदान गरको हो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमको प्रमुुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको बताएका थिए ।
सेनको आदर्श, नैतिक बल र वर्गप्रतिको निष्ठाले जो कसैलाई पनि नतमस्तक बनाउने भन्दै उहाँले देखाएको बाटोमा लाग्नुपर्ने बताएका हुन् ।
नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डब शर्माले गरेका थिए ।