
सल्यान । सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । एक जनाको अवस्था भने गम्भीर रहेको छ । बागचौर नगरपालिका–९ पातिहाल्नाबाट दाङ जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगरपालिका–२ शारदा खोलानजिकै दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस दुर्घटनामा परी घाइते हुनेमा बसमा सवार ९ जना र एक जना मोटरसाइकलमा सवार व्यक्ति पनि छन् ।
घाइतेमध्ये सात जना बागचौर नगरपालिकास्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।
दुर्घटनामा बागचौर नगरपालिका -८ कोटमौलाका ६३ वर्षीया चम्फा ढकाल, बागचौर नगरपालिका -८ कोटमौला ४८ वर्षीय अजमत कामी, सोहि ठाउँका ३६ वर्षीय दिपक योगी, ७५ वर्षीय लिलानाथ योगी घाइते भएको प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।
यस्तै बागचौर नगरपालिका -९ का २३ वर्षीय मनिषा भण्डारी, छत्रेश्वरी-२ दहखोलाका २२ वर्षीय अन्जना गिरी, रोल्पाको गंगादेव गाउँपालिका-३ का डाँडापोखरीका ५८ वर्षीय दिलकुमारी खड्का घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
ओरालोमा रोकेर चालक साइड हेर्न जाँदा बस आफै गुडेर भित्तामा ठोक्किएको प्रहरीले बताएको छ । बसले मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।