बिजौरी । दाङ जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को मतगणना परिणाम करीब सकिएको छ । तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारीरहँदा अन्य ९ वटा पालिकाको मतगणना परिणाम सार्वजनिक भैसकेको छ । मतगणना परिणामले मुलतः यस अघि एमालेले जमाएको विरासत भत्किएको छ । परिणामले बबई गाउँपालिका, दंगीशरण गाउँपालिका, लमही नगरपालिका तथा गढवा गाउँपालिका एकालेको कव्जाबाट खोसेको छ ।
पश्चिम दाङका बबई गाउँपालिका र दंगीशरण गाउँपालिका कांग्रेसको पक्षमा गयो भने बंगलाचुली गठबन्धनको नेतृत्वमा । बंगलाचुलीमा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन थियो । अध्यक्ष माओवादी केन्द्रले विजय हाँसिल गर्यो भने उपाध्यक्ष कांग्रेसले । वडाहरुमा परिणाम मिश्रित आएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका पनि एमालेको बर्चस्वमा रहन सकेन । गढवामा एमालेको विरासतलाई माओवादी केन्द्रले खोस्यो भने लमही नगरपालिकामा नेकपा एमालेको विरासतलाई कांग्रेसले भत्काइदियो । एउटा वडा बाहेक सबै वडामा नेपाली कांग्रेसले विजय हाँसिल गर्यो । यद्यपि त्यहाँ गठबन्धन थिएन । मैत्रीपूर्ण प्रतिस्पर्धामा कांग्रेस पछिको जनमत माओवादी केन्द्रले पाएको छ । एमाले तेस्रो हुनुलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ । राजपुरमा पूर्ववतरुपमै नेपाली कांग्रेस स्थापित भयो ।
एमालेको विरासत घोराहीमा देखियो । बदर मत धेरै भएका कारण यथार्थमा जनमत कसको पक्षमा थियो भन्ने अनुमान सहजै गर्न सकिन्छ । तर जेजस्तो व्याख्या गरे पनि गठबन्धन दलले घोराहीमा एमालेलाई परास्त गर्न सकेनन् । कांग्रेस र माओवादी केन्द्र मिल्दा सहजै एमालेले आफ्नो जनमत घोराहीमा गुमाउने आँकलन गरिएको थियो । यद्यपि मतगणना परिणामले भने नतिजा उल्टो बनाइदियो ।
घोराहीमा एमालेको विरासत यथावत हुनुका पछाडि कांग्रेस र माओवादीबीच तालमेल असहज भएर होइन, कारण माओवादी केन्द्रमै पनि देखियो । टिकट नपाएपछि माओवादी परित्याग गरेका जीवन गौतमको पक्षको मत तथा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरिसकेका कृष्ण बहादुर महराका स्वकीय सचिव प्रमोदको भूमिकाले पनि साविकको माओवादी केन्द्रको मत केही घटाइदियो ।
अर्को कुरा घोराहीमा थारुजातीको पनि बाहुल्यता हो । नरुलाल चौधरी थारु समुदायकै भएका कारण पनि जातीय मत नरुलालकै पक्षमा गएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । प्रारम्भिक अनुमानमा घोराही उपमहानगरपालिकामा कम्तिमा २५ प्रतिशत मतदाता थारु समुदायकै भएका कारण पनि नरुलाललाई विजय सहज बन्यो ।
घोराहीमा गठबन्धनको पराजयको प्रमुख कारण बन्यो बदर मत । मेयर पदका उम्मेदवार हेमराज शर्मा डायमण्डको करीव १० हजार मत बदर भएको बताइन्छ । उपमेयर भुप बहादुर डाँगीको पनि साढे ६ हजारको हाराहारीमा मत बदर भयो । बदर मत मात्रै रोक्न सकेको भए पनि गठबन्धनको जित सुनिश्चित जस्तै थियो । गठबन्धनलाई मत कम आउनुको अर्को कारण कांग्रेस भित्रको अन्तरकलह । कांग्रेसले पार्टीभित्रको अन्तरकलहको पूर्ण व्यवस्थापन गर्न सकेन । भर्खरै सम्पन्न कांग्रेस महाधिवेशनमा देखिएको तिक्तताका कारण पनि कांग्रेसले यसअघि विजय हाँसिल गरेका वडा समेत गुमाउन पुग्यो । त्यसको स्पष्ट कारण थियो, पार्टीभित्रैका नेता कार्यकर्ताबाट अन्तरघात ।
अर्को कुरा बदर मत रोक्नका लागि गठबन्धन दलका नेता कार्यकर्ता पूर्णरुपमा परिचालित हुन सकेनन् । किनकि गठबन्धनको निर्णय मनोनयन गर्ने अन्तिम दिन मात्रै भएको थियो । त्यसपछि चुनावी अभियान प्रचारप्रसारमा केन्द्रित भयो । मत गठबन्धनका लागि मागियो, तर मतदान कसरी गर्ने भन्ने सन्दर्भमा आम मतदातालाई बुझाउन सकिएन । उम्मेदवारनै नभएकाहरुको चुनाव चिन्ह सहितको मतपत्रका कारण भारी मात्रामा मत बदर हुन पुगे । घोराहीमा गठबन्धनले विजयी हाँसिल गर्न नसक्नुको प्रमुख कारण यही हो । मतदाता शिक्षामा पुरै वेवास्ता ।
तुलसीपुरमा पनि मतगणना जारी छ । यद्यपि तुलसीपुरमा एमालेको अग्रता कायमै छ । एमालेले पूर्ववत विजय हाँसिल गरेका वडा बाहेक केही वडा कांग्रेसको पकडबाट खोस्न सफल भएको छ भने मेयर उपमेयरमा पनि एमालेकै उम्मेदवारले विजयी हाँसिल गर्ने सम्भावना निकै बढेर गएको छ । समाचार तयार पार्दासम्म एमालेका उम्मेदवार कम्तिमा पनि दुई हजार मतको अन्तरले अगाडि छन् ।
तुलसीपुर उपमहानगरपालिकामा पनि एमाले एक्लै लडेको छ भने नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीको गठबन्धन छ । यद्यपि मतगणना परिणाम सार्वजनिक भैरहँदा गठबन्धन उम्मेदवारका कम्तिमा ९ हजार मत बदर भैसकेका छन् । नेता कार्यकर्ताहरुमा घात अन्तरघातका विषयमा टिकाटिप्पणि भैरहँदा यहाँ पनि बदर मतलाई रोक्न सकिएन । गठबन्धन पनि दरिलोरुपमा प्रस्तुत भएको अवस्था देखिएन ।
कांग्रेसभित्रकै अन्तरकलहका कारण कांग्रैसले यसअघि विजयी हाँसिल गरेका वडाहरु पनि गुमाउनु पर्यो । त्यसको ज्वलन्त उदाहरण बन्यो, तुलसीपुर उपमहानगरपालिका—११ । कांग्रेसको महाधिवेशनमा भएको अन्तरकलह व्यवस्थापन हुन नसक्दा र टिकट बाँडफाँडका क्रममा एउटा पक्षलाई मात्रै हावि बनाइँदा टिकट नपाएको पक्षले स्वतन्त्र उम्मेदवार उठायो । स्वतन्त्र उम्मेदवारले पाएको मतकै कारण अन्ततः यसअघि आफुले जितेको वडा समेत गुमाउनु पर्यो । तुलसीपुर उपमहानगरपालिका—२ को पनि अवस्था त्यस्तै छ ।
गठबन्धन त भयो, तर हरेक वडामा एमाओवादी केन्द्रलाई सदस्यमा समेत समावेश नगरिएको बताउँदै माओवादी केन्द्र पुरै वडा कमिटी भंग गरेर केही वडामा स्वतन्त्र उम्मेदवारी दियो । तुलसीपुर उपमहानगरपालिका—१६ र १७ मा अवस्था यस्तै भयो । सम्भवतः यी वडामा पनि गठबन्धनका उम्मेदवार विजयी बन्न सक्ने छैनन् । हालसम्म तुलसीपुर उपमहानगरपालिकामा १४ वटा वडाको मतगणना सकिएको छ । समाचार तयार पार्दासम्म वडा नं. २, ३, ६, ८, १०, ११, १३, १५ मा एमाले विजयी भएको छ, वडा नं. ५, ७, ९, १४ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नं. १, ४, १२ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । साथै वडा नं. १६ मा स्वतन्त्र (चुनाव चिन्ह पुतली) विजयी भएको छ र १७, १८ र १९ को मतगणना जारी रहेको छ । यसले के देखाउँछ भने तुलसीपुरमा पनि गठबन्धन बलियोरुपमा प्रस्तुत हुन सकेन ।
त्यसो त गठबन्धन मुलुकको राष्ट्रियताको रक्षा र लोकतन्त्रको रक्षाका लागि थियो । आफ्नै पार्टीको विधान पनि नमान्ने र नेपालको लोकतान्त्रिक संविधान पनि नमान्नेहरुका विरुद्ध थियो । संसदीय प्रणालिमै अविश्वास पैदा गर्नेका विरुद्ध थियो । यो गठबन्धन आगामि प्रदेश तथा संघीय निर्वाचनमा पनि जारी रहने नेतृत्वहरुले बताइरहेका छन् ।
साक्षी खबरबाट