गुणस्तरीय स्वास्थ्य सेवा बढाउंदै प्रतिष्ठान (भिडियो सहित)

घोराही ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्थास्थ्य सेवामा स्तरबृद्धि तथा मेडिकल शिक्षाकालागी अन्तिम तयारी गरेको जनाएको छ । गत बैसाख देखि चौविसै घण्टा निशुल्क प्रसुतिसेवा पुर्णरुपमा कार्यान्वयनमा ल्याएको बताएको छ । त्यसैगरी संभवतः आउदो असोज÷कार्तिकदेखि विएससी नर्सिङ शैक्षिक कार्यक्रम सन्चालन हुने आइतवार प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतिष्ठानमा दोस्रो कार्यकालकालागी नवनियुक्त उपकुलपति डा विकाश लामीछाने सहितको उपस्थीतिमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले प्रतिष्ठानले विगत एक बर्षको अवधिमा गरेका स्वास्थ्य सेवाका विषयमा जानकारी गराउंदै चिकित्सा शिक्षा आयोगले अनुमति दिएलगत्तै शैक्षिक कार्यक्रम सन्चालनकालागी प्रतिष्ठान तयारी अवस्थामा रहेको बताएका छन् । प्रसुति सेवाकालागी विशेषज्ञ चिकित्सक थप गरी बैसाख १ गतेदेखि नेपाल सरकारले निशुल्क गरेको आमा सुरक्षा कार्यक्रमलाइ पुर्ण रुपमा कार्यान्वयनमा ल्याएको बताउंदै रजिष्टार प्रकाश थापाले असार १ गतेदेखि एमआरआइ सेवा सन्चालन गर्ने उद्घोष गरे । एक जना रेडियोलोजिष्ट थप गरेर एमआरआइ सेवा सन्चालनमा ल्याएपछि अस्पतालमा आउने विरामीको रोग निदानमा निकै सहयोग पुग्ने पनि उनले अपेक्षा गरे । मृगौलाका विरामीहरुको बढ्दो चापलाइ मध्यनजरगर्दै प्रतिष्ठानले हाल सन्चालनमा आएका ७ वटा मेसीनमा ४ वटा थप गरी ११ वटा डायलायसिस मेसीन सन्चालनमा ल्याउने तयारी भैरहेको पनि पत्रकार अन्तरक्रियामा बताइयो ।

हाल प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक सहित ४० जना डाक्टरहरु कार्यरत रहेको बताउंदै प्रतिष्ठानले नेपाल सरकारले निशुल्क गरेका ओसिएमसी, एआरटि, डट्स, हेमोडायलायसिस, सिकल सेल एनिमिया तथा सामाजिक सेवाका कार्यक्रमलाइ पनि निशुल्क रुपमा सेवा प्रवाह गरीरहेको उल्लेख गरे । साथै प्रतिष्ठानलाइ स्वायत्त बनाउन तथा विरामीको मनोभावनालाइ पनि मध्यनजरगर्दै प्रतिष्ठानले विस्तारीत स्वास्थ्य सेवा पनि चाडै सन्चालन गर्ने योजना बनाएको पनि पत्रकार अन्तरक्रियामा बताइएको छ । दिउसो ३ बजेदेखि नियमित भन्दा थप अतिरिक्त शुल्क लिएर विरामीको च्वाइस अनुसारका विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह गरीने पनि सो अवसरमा बताइएको छ ।

प्रतिष्ठानले पछिल्लो समयमा चारवटा आधुनिक अप्रेशन थिएटर सन्चालनमा ल्याउनुको साथै आधुनिक प्रयोगशाला र आफ्नै अस्पताल फार्मेसी र दातको शल्यक्रिया सेवा समेत सुरु गरेको बताइयो । आवस्यकता अनुसार न्युरो तथा नेफ्रोका चिकित्सक थप गर्न प्रतिष्ठान आतुर रहेको बताउंदै अस्पताललाइ विरामीको गन्तव्य बनाउनकालागी सवैको साथ र सहयोगको अपेक्षा गरिएको छ । त्यस्तै निर्माणाधिन नयां भवन पनि अन्तिम चरणमा रहेको बताउंदै आकस्मीक उपचार कक्ष लगायत शैक्षिक कार्यक्रमकालागी पनि सो भवन उपयोगको अन्तिम तयारी भएको पनि रजिष्टार थापाले बताए । उनले दुइसातामै नया भवन प्रतिष्ठानलाइ हस्तान्तरण हुने पनि बताए ।

त्यसैगरी प्रतिष्ठानमा मेडिकल कलेज सन्चालनकालागी आवस्यक अस्पताल निर्माणकालागी प्रतिष्ठानको स्वामित्वमै रहेको करीव २० विगाहा जग्गामा ४ सय वेडको आधुनिक अस्पताल भवन निर्माणको गुरुयोजना सहित भवन निर्माणको सहयोगार्थ यसको फाइल राष्ट्रिय योजना आयोगमा पेस भैसकेको बताइएको छ । ‘स्वास्थ्य मन्त्रालयबाट स्वीकृत गराएर ४ सय वेडको अस्पतालको मास्टरप्लान सहित योजना आयोगको प्रोजेक्ट बैंकमा फाइल पुगिसकेको छ’, रजिष्टार थापाले भने ।

त्यस्तै प्रतिष्ठानकालागी आवस्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि मन्त्रालयमा पुगेको छ । नवलपुरमा उपलव्ध भएको ५ कित्ताको जग्गा मध्ये एउटा कित्तामा सार्वजनिक कुलो परेकाले त्यसको पनि स्वामित्व लिनकालागी जिल्ला विपत व्यावस्थापन समिति मार्फत पत्राचार हुने क्रममा रहेको पनि बताइयो । जिल्ला प्रशासन कार्यालयबाट सो कित्तामा रहेको सार्वजनिक कुलो पनि हाल चल्तीमा नरहेको भावना सहितको पत्र संबन्धित मन्त्रालयमा पुगेपछि जग्गाको स्वामित्व लिने काम पनि सहज हुने पत्रकार अन्तरक्रियामा बताइएको छ ।

शैक्षिक कार्यक्रम भने अन्योल

प्रतिष्ठानले आउदो असोज महिनादेखिनै विएससी नर्सिङ वा विएन सन्चालनको अन्तिम तयारी भैरहेको बताएपनि चिकित्सा शिक्षा आयोगले भने अझैपनि सन्चालनको अन्तिम स्वीकृति दिएको छैन । दुइमहिना अघि स्थलगत अनुगमनमा आएको आयोगको टोलिले हालसम्म कुनै आधिकारीक जवाफ नदिएको प्रतिष्ठानका उपकुलपति डा विकाश लामीछानेले बताएका छन् ।

‘अनुगमनको काम सम्पन्न भैसकेको छ, आयोगले हुन्छ पनि भनेको छैन, हुन्न पनि भएको छैन, त्यसैले शैक्षिक कार्यक्रमका विषयमा अझै अन्तिम टुंगो लागेको छैन’, उपकुलपति लामीछानेले भने । प्रतिष्ठानले नर्सिङ कार्यक्रम चलाउनकालागी लेक्चरर हल, अडिटोरियम हल, प्रयोगशाला, क्यान्टिन, क्याथल्याव, लगायतका अत्यावस्यक संरचना निर्माण भैसकेको बताएको छ । साथै शैक्षिक कार्यक्रम सन्चालनकालागी पाठ्यक्रम निर्माण तथा जनशक्ति व्यवस्थापनको काम समेत पुरा भैसकेको बताइएको छ । पत्रकार अन्तरक्रियामा उपकुलपति लामीछानेले शैक्षिक कार्यक्रम सन्चालन सामान्य नभएको बताउंदै आयोगले चाहेजस्तो फाउण्डेशन र पुर्वाधारहरु तयार भएपछि मात्रै शैक्षिक कार्यक्रम सन्चालनको अन्तिम टुंगोलाग्ने बताए । संभवतः पुर्वाधार निर्माणमा ढिलासुस्ती भएकै कारण आफ्नो कार्यकालसम्म एमविविएस कक्षा सन्चालनको संभावना नरहेको पनि उनको अभिव्यक्ति थियो ।

तैपनि अस्पतालको स्वास्थ्य सेवालाइ आधुनिक, स्तरीय एवं प्रभावकारी बनाउन प्रतिष्ठान अहोरात्र खटिरहने उनले बताए । त्यसकालागी प्रतिष्ठानले सन्चार क्षेत्रको भुमिकाको पनि अपेक्षा गरेको छ । ‘प्रतिष्ठानमा स्तरीय स्वास्थ्यसेवा प्रदान गर्नु हाम्रो प्रार्थमिकता हुने छ, यो क्रममा त्रुटि भए औल्याइदिनुहोला, सेवा स्तरीय भएको अवस्थामा प्रचारात्मक अभियानलाइ तिब्र बनाइदिनुहोला’, उपकुलपति लामीछानेले भने । चारसय वेडको अस्पतालको निर्माणको प्रक्रिया भने संभवतः आगामि आर्थिक बर्षदेखिनै सुरु हुने उनको अपेक्षा थियो ।  

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस