धनकुटा – धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको छ ।
बिदाको दिन सरकारी गाडी चलाउन नपाउने प्रावधान भएपछि प्रहरीले जाँच कडा बनाएकाे थियाे । जाँचका क्रममा बिदाकाे दिन सरकारी गाडी चलेकाे भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले बताउनुभयाे ।
‘बिदाको दिन सरकारी गाडी कुदाउन पाइँदैन । कार्यालय प्रयोजनमा कुदाउनै परे जिल्ला प्रशासन कार्यालयको पास लिएर मात्र कुदाउनुपर्छ’, डीएसपी दाहालले भन्नुभयाे ।
जाँचका क्रममा हिलेबाट १७ वटा, भेडेटारबाट १६ तथा सिधुवा र धनकुटाबाट एक/एक वटा सरकारी गाडी नियन्त्रणमा लिइएको डीएसपी दाहालले जानकारी दिनुभयाे । नियन्त्रणमा लिइएकामध्ये चार पाङ्गे गाडी दुई वटा छन् भने अन्य सबै मोटरसाइकल रहेकाे प्रहरीले जनाएकाे छ ।