घोराही उपमहानगरमा एमालेको जित, प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डिसी निर्वाचित

दाङ । दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा नरुलाल चौधरी निर्वाचित हुनुभएको छ । नेकपा एमालेका तर्फबाट दोस्रो कार्यकालका लागि चौधरीले ३१ हजार ७ सय २८ मत ल्याएर नगर प्रमुखमा निर्वाचित हुनुभएको हो ।
उहाँ निकटम प्रतिद्धन्द्धी पाँच दलिय गठबन्धनका तर्फबाट माओबादी केन्द्रबाट उम्मेदवार बनेका हेमराज शर्मा डाइमण्डलाई ५ हजार ३ सय ६० मतले पछि पार्दै नगर प्रमुखमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत न्यायाधिस रितेन्द्र थापाले जानकारी दिनुभयो । यसैगरी, उपप्रमुखमा नेकपा एमालेकै हुमाकुमारी डिसी निर्वाचित हुनुभएको छ । पाँच दलिय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै नगर उपप्रमुखमा निर्वाचित हुनुभएको हो ।
निर्वाचित डिसीले ३० हजार ४ सय ३ र पराजित भुपबहादुरले ३० हजार ३ सय ५४ मत ल्याउनुभएको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । यस अघिको २०७४ सालको निर्वाचनमा भुपबहादुर डाँगीले नगर प्रमुखमा नरुलाल चौधरी सँग पराजित हुनुभएको थियो ।
यसैविच राप्रपाका तर्फबाट नगर प्रमुखका उम्मेदवार सरीता देवकोटाले ५ हजार ३ सय २४ र उपप्रमुख पदका उम्मेदवार विभुजंग बुढाथोकीले ३ हजार ५ सय ११ मत ल्याउनुभएको छ । त्यसैगरी, नेकपा एकीकृत समाजबादीका मेयर पदका उम्मेदवार रामप्रसाद चौधरीले १ हजार १ सय ४३ र उप मेयरका उम्मेदवार शोभा शाहले १ हजार १ सय ५८ मत ल्याउनुभएको छ । मंगोल नेशनल अर्गनाईजेशनका तर्फबाट मेयरका उम्मेदवार कल्पना थारुले ५ सय ८७ र उपमेयरका उम्मेदवारले ५ सय ९२ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
घोराही उपमहानगरपालिकामा १३ वटा वडा एमाले, ५ वटा वडा कांग्रेस र १ वटा वडामा माओवादीले जितेको छ । बैशाख ३० गते भएको निर्वाचनमा घोराही उपमहानगरपालिकामा ७६ हजार ५२१ मत खसेको थियो । बैशाख ३१ गते देखि शुरुभएको मतगणना जेठ ५ गते राती २ बजे सकिएको हो ।

यसैबिच नवनिर्वाचित मेयर तथा उपमेयरलाई सँगै प्रतिस्पर्धामा रहेका हेमराज शर्मा र भुपबहादुर डाँगीले बधाई एवं शुभकामना दिनुभएको छ । निर्वाचन प्रकृयामा गैसकेपछि हारजित स्वभाविक भएको भन्दै आगामी दिनका नगरको विकासमा हातेमालो गरेरै जाने समेत उहाँहरुले प्रतिबद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस