
दाङ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रलाई दुर्घटनाबाट बचाउनका लागि भएको बताएका छन् ।

पाँच दलीय गठबन्धनको आयोजनामा आइतबार दाङको तुलसीपुरमा आयोजना गरेको चुनाबी आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धनले सबै भन्दा देशलाई फाइदा पुर्याएको भन्दै यो गठबन्धन जोगाउन आवश्यक रहेको बताए ।

यदि गठबन्धन नभएको भए प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरु नहुँने भन्दै यो गठबन्धन अति आवश्यक भएको बताएका छन् । साथै उनले गठबन्धनबाट सबै स्थानीय सरकार, वडा जितेपछि केन्द्रबाट पठाएको बजेट पनि सदुपयोग हुने र विकास पनि बताए । यो गठबन्धन भनेको प्रतिगमण विरुद्धको गठबन्धन भएकाले पनि ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको समेत उनको भनाई थियो ।
संसदमा विरोध भएपछि संसद नै विघटन गर्ने, जनताको निर्णय पनि नमान्ने, अदालतको निर्णय पनि नमान्ने, बहुमतको पनि निर्णय नमान्ने केपी वलीको प्रबृत्तिले मुलुक अप्ठ्यारोमा पर्न थालेपछि गठबन्धन गरिएको देउवाले बताए ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा भाषण गरेको कुरालाई कुअर्थ लगाइएको बताए । तुलसीपुर आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले आफुले देश दुर्घटना वा भाँडमा जाओस् भन्न नखोजेको बताए । गठबन्धनका उमेदवारले विजयी प्राप्त गरे मात्रै प्रतिगमन परास्त हुने भन्न खोजेको उनले बताए ।
तर प्रचण्डले छोरीलाई जिताउनका लागि, नजिते देश दुर्घटनामा जान्छ भन्ने जस्ता नकारात्मक कुराको प्रचार भएको अध्यक्ष प्रचण्डले दावी गरे । आफुहरुको गठबन्धन प्रतिगमन विरुद्ध, षड्यन्तकारी विरुद्ध भएको उनले बताए ।

देशभर गठबन्धन गरेर प्रतिगमन विरुद्ध एकताबद्ध हुन आवश्यक भएकाले चुनावी तालमेल गरेको बताउदै उनले साझा उमेदवारहरुलाई विजयी बनाउन अपिल गरेका छन् ।
आज दाङका दुई स्थान तुलसीपुर र घोराही उपमहानगरपालिकामा चुनावी सभा भएका हुन् ।