
बंगलाचुली । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीस्वरुप आज नमूना मतदान गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङको आयोजनामा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटीमा नमूना मतदान कार्य सम्पन्न गरिएको हो ।
नमूना मतदानमा विभिन्न स्थानबाट आएका ६४ जनाले मतदान कार्यमा भाग लिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । जसमा संयुक्त गठबन्धन तर्फका ५ वटा नमूना मतपत्रमा बदर देखिएको प्रदेश निर्वाचन कार्यालय दाङका शाखा अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिए ।
उनकाअनुसार प्रदेश निर्वाचन कार्यालयले दाङको एकमात्र ठाउँमा नमूना मतदान गर्ने योजना स्वरुप दाङको विकट पालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिकालाई छनौट गरिएको हो । जहाँ गरिएको नमूना मतदानबाट यस पटको निर्वाचनमा बदर मतको संख्या कम हुने आशा राखिएको उनले बताए ।
नागरिकले एकपटक पालिका तहको चुनावमा भाग लिइसकेको र निर्वाचन आयोग तथा दलका उम्मेद्वारहरुबाट विभिन्न तहबाट मतदाता शिक्षाको कार्यक्रमहरु सञ्चालन गरिरहेको हुँदा बदर मतको संख्यामा कमि देखिएको शाखा अधिकृत बुढाथोकीले जानकारी दिए ।
नमूना मतदान कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण प्रसाद भण्डारी, शाखा अधिकृत रेवतबहादुर बुढाथोकी, सूचना अधिकारी गेहेन्द्र कुवर, बंगलाचुली गाउँपालिकाका प्रुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेय लगायतको सहभागिता रहेको थियो ।
नमूना मतदान कार्यक्रममा बंगलाचुली गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार तुलसीराम पुनमगर शुवास, उपाध्यक्ष पदका उम्मेद्वार भक्तबहादुर जिसीले समेत भाग लिएका थिए ।