उम्मेदवारहरुसँग चुनावी एजेण्डा सम्बन्धी बहस

तुलसीपुर । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै तुलसीपुरमा उम्मेदवारहरुसँग चुनावी एजेण्डा सम्बन्धी बहस कार्यक्रम भएको छ । शुक्रबार नेपाल पत्रकार महासघं दाङको आयोजनामा तुलसीपुरका मेयर/उपमेयर पदका उम्मेदवारहरुसँग उक्त कार्यक्रम भएको हो ।

त्यस अवसरमा ५ दलीय गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले मानव जिवनको विकासका लागि सडक अति नै महत्वपूर्ण भएकोले सडक नहुदाँसम्म कुनै पनि विकास सम्भव नरहेको बताएका थिए । अझै पनि तुलसीपुर उपमहानगरपालिकाका १३,४,३,१९ लगायतका वडाका बस्तीहरुमा सडक नपुग्दा विरामीहरुलाई डोको, खट्टेहरुमा बोकेर अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता रहेको उनले बताए ।

‘ती विकट ठाउँहरुमा सडक नपुग्दा यातयातका साधनहरु पनि जान सक्दैन’ गिरीले भने, ‘यातयातका साधनहरु जान नसक्दा त्यहाँका कृषकहरुले उत्पादन गरेका कृषिजन्य बस्तुहरु बजारीकरण हुन सकेका छैनन् । यसले गर्दा कृषकको श्रमको मुल्य झनै घट्को छ ।

उनले तुलसीपुरको बजारदेखि गाउँगाउँसम्म सडक, स्वास्थ्य, शिक्षा, कृषि, शुद्ध खानेपानी, यातयातका साधन पुर्याउने, टरिगाउँ बिमानस्थलको स्त्तोरउन्नति गरि नियमित हवाई उडान सञ्चालन गर्ने आफुहरुको मुख्य एजेण्डा रहेको बताए ।

‘०७४ सालकोे निर्वाचनमा तुलसीपुरले १९ वटै वडामा खरका छाना मुक्त गर्ने अभियान ल्यायो तर त्यो अभियान सफल हुन सकेन’ गिरीले भने, ‘अझै पनि तुलसीपुरका ३, १८ र १९ वडामा थुप्रै नागरिकहरुले टिनको छाना पाउने आसमा बसेका छन, हामीले जितेमा यो अभियानलाई पुनः सञ्चालन गर्ने छौँ र खरको छाना मुक्त उपमहानगरपालिका बनाउने छौँ ।

गिरीले नेपाल सरकारले ३५ वटा औषधी निशुल्क वितरण गर्ने नीति ल्याए पनि त्यो कार्यान्वयन हुन नसकिरहेको भन्दै आफुले जितेमा त्यसलाई कार्यान्वयन गरि हरेक नागरिकलाई निशुल्क औषधी उपलब्ध गराउन पहल गर्ने बताए । वर्षै देखि अव्यवस्थितरुपमा बसोबास गर्दै आएका नागरिकहरुको लागि लालपुर्जा उपलब्ध गराउन विषेश भूमिका खेल्ने पनि योजना रहेको सुनाए ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार टिकाराम खडकाले तुलसीपुरलाई ग्रिन, क्लिन सिटी बनाउने योजना रहेको बताए । अलपत्र अवस्था रहेको सडकलाई सडकको मापदण्डअनुसार अगाडी बढाउन पहल गर्ने, टरिगाउँ विमानस्थलको स्तरउन्नतिसँगै नियमित उडान गरि दाङलाई पर्यटनको केन्द्र बनाउने, स्वास्थ सुधारको लागि स्वास्थ्य केन्द्रहरुमा विषेशज्ञ घुम्ती शिबिर संचालन गर्ने, शिक्षामा सुधार ल्याउने,सामाजिक सुरक्षा भत्तालाई समयमै उपलब्ध गराउन पहल गर्ने, बढे जनसङ्ख्यालाई मध्यनजर गर्दै खानेपानीलाई व्यवस्थित गर्ने, तुलसीपुरलाई औधोगिक सहर बनाउने मुख्य एजेण्डाहरु रहेको बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार टोप बहादुर महतराले तुलसीपुर उपमहानगरपालिकामा भएको आर्थिक अनियमिततालाई कम गर्न, भ्रष्टचारलाई अन्त्य गर्न, प्रत्येक वडामा स्वास्थ्य चौकीको भवन निमार्ण, चुहावटका योजनालाई अन्त्य गर्दै सामुदायिक विद्यालयमा १० सम्म निशुल्क शिक्षा, सबै वडामा डिपबोरिङे माध्यमबाट खानेपानी पुर्याउने आफ्ना मुख्य एजेण्डाहरु रहेको बताए ।

नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनबाट उपमेयर पदका उम्मेदवार जोगबहादुर रानाले हरेक नागरिकलाई गास, बास, कपासको व्यवस्था गर्ने आफुहरुको मुख्य एजेण्डा रहेको बताए ।

उनले तुलसीपुरमा रहेको सुकुम्बासी समस्या समाधान, जिल्लाकै एक मात्र सम्भावना बोकेको टरिगाउँ एयरपोर्टलाईको स्तरउन्नति, खेलकुद बिकासको लागि १९ वटा वडामा खेल मैदान निमार्ण, महिलाहरुका लागि लक्षित कार्यक्रम, उपमहानगरपालिका भित्रका सडक स्तरउन्नती, लक्षित किसानहरुलाई परिचय पत्र लागू गर्ने योजनाहर रहेको सुनाए ।

त्यस्तै नेकपा एमालेको तर्फबाट उपमेयर पदका उम्मेदवार स्यानी चौधरीले शिक्षालाई गुणस्तरीय र निशुल्क बनाउने आफ्नो पहिलो एजेण्डा रहेको बताइन् । उनले आफु स्मार्ट र खुसि भए मात्र अरुलाई खुसि बनाउन सकिने भन्दै हरेक छोरीलाई निशुल्क शिक्षा, रोजगार, स्वास्थ्यको पहुँचमा पुर्याउने, सबै जातजाति, धनी गरिवलाई मिलाएर तुलसीपुर म्युजिएम बनाउने योजनाहरु रहेको सुनाइन् ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस