कक्षा ५–८ सम्मको पाठ्यपुस्तक छाप्न अझै एक महिना लाग्ने

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गर्ने कक्षा ५–८ सम्मका पाठ्यपुस्तक छपाइ पूरा गर्न अझै एक महिना लाग्ने भएको छ ।

१ जेठदेखि २०७९ को शैक्षिक सत्रको पढाइ सुरु गर्ने तयारी भएपनि अझै कक्षा ५–८ सम्मका पाठ्यपुस्तकको छपाइ पूरा गर्न थप एक महिना लाग्ने जनक शिक्षा सामग्रीले जानकारी दिएको छ ।

कागजको अभावका कारण कक्षा ५–८ सम्मका पाठ्यपुस्तक छपाइ पूरा गर्न ढिलाइ भएको केन्द्रको भनाइ छ । अरु कक्षाको भने सबै पुस्तकको छपाइ सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

झाले भने, ‘कागज समयमौ आइनपुग्दा ती वटा कक्षाका पाठ्यपुस्तक छपाइ पूरा गर्न बाँकी छ । तर अब छिट्टै सकिन्छ । अरु कक्षाको सबै सकिएको छ ।’ अबको एक महिनाभित्र सबै छपाइ सकिने झाको भनाइ छ ।

मतपत्र छपाइको जिम्मेवारी पाएको केन्द्रले त्यसले पनि पुस्तक छपाइमा केही प्रभाव पारेको झा बताउँछन् । कक्षा ५ र ८ मा भने आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू हुने भएकोले छाप्दै वितरण गर्ने र अपुग भएका पुस्तक मात्र छाप्ने गरी काम भइरहेको उनको भनाइ छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुरुप यही शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू हुँदैछ ।

सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ तयार गरी शैक्षिक सत्र २०७७ देखि शैक्षिक सत्र २०८० कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो । सोही अनुसार पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम निर्माण गरी वितरण केन्द्रमा पुर्याइसकेको बताएको छ ।

शैक्षिक सत्र २०८० सालमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गरिएपछि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसक्ने छन् ।

प्रकाशित मिति : २०७९ बैशाख २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस