बिजौरी। नेपाल संस्कृत विश्वविद्यालय, प्राध्यापक सङ्घ, एकाइ समिति, जनता विद्यापीठ, बिजौरी दाङको साधारण सभा मङ्गलबार सम्पन्न भएको छ ।
जनता विद्यापीठको सभाहलमा सम्पन्न भएको उक्त साधारण सभाको सभापतित्व एकाइका सभापति उपप्राध्यापक शिवप्रसाद न्यौपानेले गरेका थिए । सभाको प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालय, प्राध्यापक सङ्घ केन्द्रीय सदस्य उपप्राध्यापक सुधीरकुमार शर्मा र विशिष्ट अतिथि जनता विद्यापीठका प्राचार्य सहप्राध्यापक योगराज शर्मा रहेका थिए।
त्यस्तै अतिथिहरुमा नेसंविका पूर्व परीक्षा नियन्त्रक सहप्राध्यापक नीलप्रसाद सापकोटा र नेसंवि. प्राध्यापक सङ्घका पूर्व केन्द्रीय उपसभापति उप्रप्राध्यापक अनोजकुमार खत्री रहेको कार्यक्रममा अतिथि वक्ताहरूले प्राध्यापक सङ्घ एकाइ समितिले आफ्नो तीनवर्षे कार्यकालमा गरेका कामहरूको प्रशंसा गरेका थिए ।
प्राध्यापक सङ्घ सम्पूर्ण प्राध्यापकवर्गको हकहितको आवाज उठाउने साझा संस्था भएकाले सम्पूर्ण प्राध्यापक यसमा सक्रियतापूर्वक लाग्नुपर्ने र विश्वविद्यालय एवम् सिंगो संस्कृत वाङ्मयको संरक्षक हुनुपर्ने कुरामा बोल्ने वक्ताहरूले जोड दिएका थिए ।
सभाले एकाइ समितिका उपसचिव उपप्राध्यापक पुरुषोत्तम आचार्यद्वारा प्रस्तुत कार्य प्रगति प्रतिवेदन एवम् कोषाध्यक्ष उपप्राध्यापक पर्शुराम चौधरीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पास गरेको थियो । सभामा बोल्दै सभापति शिवप्रसाद न्यौपानेले आफ्नो कार्यकालमा भोगेका विभिन्न अनुभवहरूको लेखाजोखा गर्दै अब बन्ने नयाँ एकाइ समितिले अझ सक्रियताका साथ कार्य अगाडि बढाउनुपर्ने शुभेच्छा प्रकट गरे ।
साथै उनले एकाइ समितिको पहलमा निर्माण भएको प्राध्यापक तथा कर्मचारी आवास, विज्ञसमीक्षित अनुसन्धानात्मक जर्नल सारस्वतप्रभाका २ वटा अङ्क प्रकाशन जस्ता महत्त्वपूर्ण कार्यहरू आफ्नो कार्यकालमा सम्पन्न भएको जानकारी गराए ।
४० जना प्राध्यापकहरूको उपस्थितिमा सम्पन्न उक्त सभाले आगामी दिनमा हुने प्राध्यापक सङ्घ एकाइ समिति एवम् केन्द्रीय प्रतिनिधिको निर्वाचनका लागि उपप्राध्यापक दुर्गाबहादुर केसीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । जसको सदस्यहरूमा उपप्राध्यापक टीकाराम बुढा र उपप्राध्यापक श्रीराम थारु रहेका छन् ।
समितिका उपसभापति उपप्राध्यापक दुर्गालाल केसीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त साधारण सभामा एकाइका सदस्य उपप्राध्यापक श्रीराम थारुले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन एकाइका उपसचिव उपप्राध्यापक पुरुषोत्तम आचार्यले गरेका थिए।