
कोहलपुर । बाँकेको कोहलपुरमा माओवादीप्रति युवाहरुको आकर्षण बढ्दै गएको छ । आसन्न निर्वाचनको मिति नजिकिदैं जाँदा हरेक दिन माओवादी केन्द्रमा प्रवेश गर्ने युवाको संख्यामा समेत वृद्धि हुन थालेको छ ।
मंगलबार कोहलपुर नगरपालिका वडा नं. १ र २ का दर्जन बढी युवाहरु माओवादीमा समाहित भएका छन् । विभिन्न दलमा आवद्ध युवाहरु स्वतस्फुर्त रुपमा माओवादी केन्द्रको झण्डामुनी एकीकृत भएका हुन । कोहलपुर वडा नं. २ की युवा नेतृ चेतना र वडा नं. १ का युवा नेता प्रदिप शाहीको नेतृत्वमा मंगलबार दर्जन बढी युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

माओवादीले लिएको नीति र पार्टीको लोकप्रियताका कारण माओवादीप्रति आकर्षण बढेको नवप्रवेशी युवाहरुले बताएका छन । उनीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए ।
युवाहरुलाई स्वागत गर्दै मेयरका प्रत्यासी न्यौपानेले अब हरेक क्षेत्रको नेतृत्व युवाहरुले गर्नुपर्ने बताए । पछिल्लो समय राजनीतिप्रति युवाहरुको आकर्षण बढ्दै गएको उल्लेख गर्दै न्यौपानेले हरेक युवामा राजनैतिक चेत जगाउनुपर्ने बताए ।
सत्ताबाहिर रहँदा समेत कोहलपुरको विकासका लागि माओवादीले गरेका महत्वपूर्ण कामहरुको मुल्याङ्कन गर्दै कोहलपुरवासीले अबको पाँच वर्ष माओवादीकै नेतृत्वमा स्थानीय सरकार चुन्नेमा आफु ढुक्क भएको बताउँदै न्यौपानेले युवाहरुको हक, अधिकार र बिकासका लागि कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत जाहेर गरेका छन ।