फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता १ अर्ब ९६ करोड

सन् २०२२ सुरु भएयता फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या पुनः बढ्न थालेको छ । कम्पनीको आम्दानीको वृद्धिदर एक दशक यताकै सबैभन्दा कम रहेको रिपोर्ट आइरहेका बेला यो वर्ष फेसबुकले आफ्ना प्रयोगकर्ता गुमाउने क्रम भने रोकिएको छ ।

फेसबुकको मातृ कम्पनी मेटाले बुधबार सार्वजनिक गरेको सन् २०२२ को पहिलो त्रैमासिकको रिपोर्ट अनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा वृद्धि भई एक अर्ब ९६ करोड पुगेको छ ।

स्मरण रहोस् सन् २०२१ मा फेसबुकले पहिलोपटक आफ्नो दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा गिरावट आएको बताएको थियो । त्यस्तो गिरावटको रिपोर्टसँगै फेसबुकको शेयर मूल्य घट्दा मेटा कम्पनीले अर्बौँ डलर गुमाएको थियो । तर बुधबार सार्वजनिक भएको रिपोर्टसँगै कम्पनीको शेयर मूल्यमा १९ प्रतिशतले बढोत्तरी भएको छ ।

फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या झण्डै दुई अर्ब पुगे पनि इन्स्टाग्राम र ह्वाट्सएपको समेत स्वामित्व रहेको मेटा कम्पनीको आम्दानीमा भएको वृद्धिदर भने एक दशक यताकै कम देखिएको छ ।

सन् २०२२ को पहिलो त्रैमासिकमा मेटा कम्पनीको आम्दानी २७ अर्ब ९० करोड पुगेको छ । जुन गतवर्ष सन् २०२१ को पहिलो त्रैमासिकको तुलनामा केवल ७ प्रतिशतले बढी हो ।

युक्रेनमा जारी रुसी आक्रमणलगायतका कारणले गर्दा विश्वमा व्याप्त मूल्यवृद्धि तथा आर्थिक अनिश्चितताका कारण विश्वका उद्योग व्यवसायहरूले फेसबुकमा दिने विज्ञापनमा कमी आएका कारण फेसबुकको आम्दानी उल्लेख्य रुपमा बढ्न नसकेको बताइएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस