
तुलसीपुर । जिल्लाका दश स्थानीय तहमा कतै गठबन्धनबाट तामझामका साथ र कतै दलहरू एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन् । विषेश चासोको रुपमा हेरिएको जिल्लाका जुम्लाहा उपमहानगरपालिकामा गठबन्धन दलका साझा उम्मेदवार लगायत पार्टीका उम्मेदवारहरूले निकै तामझाम गरेर उम्मेदवारी दर्ता गराएका छन् ।
घोराही उपमहानगरपालिका नेकपा माओवादी केन्द्रको भागमा परेको हुँदा गठबन्धनले साझा उम्मेदवार हेमराज शर्मा ‘डाइमन्ड’लाई मेयर पदमा र २०७४ सालमा कांग्रेसबाट मेयरमा पराजित भएका भुपबहादुर डाँगीलाई उपमेयरको उम्मेदवार बनाएको छ । निकै तामझामका साथ उम्मेदवारी दर्ता गराएका उनीहरूले भने स्वच्छ सुन्दर घोराही निर्माणको लागि आफूहरूको उम्मेदवारी रहेको बताएका छन ।
घोराहीमा ठूला पार्टीहरूले मात्र नभइ साना पार्टीहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूको पनि ठुलो दलको जस्तै कुरा छन् । भष्ट्राचार मुक्त समाज र समृद्धि बनाउने सपना रहेको राप्रपाबाट मेयर पदमा उम्मेदवारी दिएकी सरिता देवकोटाले बताइन् ।
२०७४ सालमा घोराही उपमहानगरको मेयर पदमा विजयी भएका नेकपा एमालेका नरुलाल चौधरी यस पटक पनि मेयर पदमा उम्मेदवारी दिएका छन् । उनले पनि घोराहीलाई विकास र समृद्धि बनाउनको लागि आफ्नो उम्मेदवारी भएको बताउँछन् ।
घोराही उपमहानगरपालिकालाई ग्यारेजमा थन्किएको गाडिमा तेल खायो भनेर आरोप पनि लाग्दै आएको छ । घोराहीमा मात्र नभइ तुलसीपुर उपमहानगरका उम्मेदवारहरूको पनि उस्तै सपना रहेको छ । तुलसीपुर उपमहानगरपालिका गठबन्धनबाट नेपाली कांग्रेसलाई परेको छ ।
नेपाली कांग्रेसबाट मेयर पदमा उठेका साझा उम्मेदवार गेहेन्द्र गिरीले भने ५ वर्ष एमालेको नेतृत्वमा सरकार हुँदा नागरिकहरूले धेरै समस्या भोगेको भन्दै त्यसको अन्त्य गर्ने बताए । गिरीले भने बिगतमा सत्तामा रहेकाहरुले गरेको विकृति, विसंगतिको अन्त्य गर्न आँफुले मेयरमा उम्मेदवारी दिएको बताए । विगतमा सत्तामा रहेकाहरुले गरेको विकृति, विसंगतिको अन्त्य गर्न आफुले मेयरमा उम्मेदवारी दिएको बताएका छन् ।
त्यस्तै गिरीले एमालेका मेयरले ६५ करोड जति तुलसीपुर उपमहानगरपालिकालाई ऋण लगाएको भन्दै आफुले जितेपछि तुलसीपुरको आर्थिक अवस्था सुधार्न लाग्ने समेत बताए ।
अहिले मेयर घनश्याम पाण्डेमाथि तुलसीपुरबासीलाई करोडौं ऋण तथा बेरुजु थपेको आरोप लाग्दै आएको छ । त्यस्तै मेयरका उम्मेदवार गिरीले तुलसीपुर–घोराही सडकखण्ड चारलेन बनाउने जिम्मा तुलसीपुरका मेयरका छोराले लिएर तीन वर्षसम्म पनि काम नगरेको हुँदा जनताले दुःख पाउनु परिरहेको बताए ।
स्मार्ट सिटी, टावर भनेर आफुहरुले फुस्सा गफ नगर्ने बरु जनताका जनजिविकाको सवालमा काम गर्ने उनको भनाइ थियो ।
मेयरका उम्मेदवार गिरीले खाने पानी नभएको ठाउँका जनतालाई खाने पानी पुर्याउने, औषधी नपाएका गरिबलाई औषधी उपचारको ब्यवस्थापन गर्ने, पढ्न नपाएकालाई पढाउन आफुले ध्यान केन्द्रित गर्ने बताए ।
त्यस्तै गठबन्धन दलका उपमेयरका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगरले आफुहरुले जितेपछि तुलसीपुरको समग्र विकास र परिवर्तनको लागि काम गर्ने जोड दिए । रानाले तुलसीपुरको एयरपोर्टको धावन मार्ग विस्तार गरि ठूला जहाज अवतरण हुन सक्ने बनाई हवाई सेवा सहज बनाउने प्रतिबद्धता जनाए ।
पहिलो प्राथमिकता गरिबी हटाउने – टीकाराम खड्का
यता नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकामा मेयरका उम्मेदवार टीकाराम खड्काले आफुलाई निर्वाचित भए तुलसीपुर क्षेत्रको गरिबी हटाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
एमाले दाङका यस अघिका अध्यक्ष समेत रहेका खड्काले समाजको समृृद्धि, स्वास्थ्य, शिक्षा, खानेपानी क्षेत्रमा सुधारका लागि आफुले काम गर्ने आश्वासन बताए ।
त्यस्तै उपमेयर पदकी उम्मेदवार स्यानी चौधरीले आफुले जिते तुलसीपुरलाई आहा बनाउने प्रतिक्रिया दिइन् ।
चौधरी पहिलो पटक सक्रिय राजनीतिमा उभिएकी छिन । अहिलेसम्म उनले तुलसीपुरमा ‘दिदी घर’ संस्था चलाउँदै आएकी छिन् । तुलसीपुरलाई आहा बनाउने गुणस्तरीय शिक्षामा आफुले जोड दिने उनको जोड थियो । साक्षी खबरबाट