तुलसीपुर । विद्युतको बक्यौता नतिर्दा तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले ४ महिना यताको विद्युत महशुल नबुझाएको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ । विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख ज्ञानबहादुर फर्सालकाअनुसार तुससीपुर उपमहानगरपालिकाका कार्यालयको मात्रै करिब डेढ लाख महशुल बुझाउन बाँकी छ । त्यस्तै उपमहानगरपालिकाले सडक बत्तीको पनि महशुल पनि बुझाएको छैन । उपमहानगरले सडक बत्तीको जरिवानासहित करिब ९८ लाख महशुल बुझाउनुपर्नेछ ।
सडक बत्ती र कार्यालयको महशुल नबुझाएकाले विद्युत प्राधिकरणले मंगलबार विहान विद्युत काटिएको हो । पटक–पटक विद्युत महशुल बुझाउन भनि पत्र पठाएको भए पनि कुनै प्रतिक्रिया नदिएपछि लाइन काट्नु परेको प्रमुख फर्सालले बताए ।
सडक बत्ती र कार्यालयको महशुल नबुझाएसम्म विद्युत दिन नसकिने उनले बताए । ‘कार्यालयले महशुल नबुझाउँदासम्म हामीले विद्युत जडान गर्दैनौं’, फर्सालले भने । सडक बत्तीको भने धेरै बर्षदेखिकै बक्यौता तीर्न बाँकी रहेको उनले बताए ।
उपमहानगरपालिका कार्यालयसँगै अन्य व्यक्तिगत तथा संस्थागत समेत गरी १२ सय ग्राहकको विद्युत काटेको उनले बताए । ‘हामीले विद्युत महशुल नतिर्नेका विद्युत धमाधम काटिरहेका छौं’ वितरण केन्द्रका प्रमुख फर्सालले भने, ‘हालसम्म १२ सय भन्दा बढी ग्राहकको विजुली काटिसकेका छौं, सरकारी कार्यालयको भने यो पहिलो हो ।’
विजुली काटिएपछि तुलसीपुर उपमहानगरपालिकाको सेवा प्रवाहमा समस्या भएको छ । उपमहानगरपालिकामा विद्युत लाइन काटिएपछि जेनेरेटरबाट काम चलाउनुपरेको उपमहानगरका सूचना अधिकारी बाबुराम न्यौपानेले बताए । कार्यालयबाट थुप्रै सेवा प्रवाह गर्नुपर्ने भएकाले कठिनाइ भएको उनले बताए ।


