एक लाखभन्दा बढीको उम्मेदवारी दर्ता‚ कुन प्रदेशमा कति ?

दाङ । स्थानीय तह निर्वाचनका लागि एक लाख जनाभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगले राति ११ बजे सार्वजनिक गरेको जानकारी अनुसार दुई दिनमा एक लाख चार हजार १२३ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गते तोकिएको थियो।

प्रमुखमा २ हजार ७४४‚ उपप्रमुखमा एक हजार ६९९‚ अध्यक्षमा दुई हजार ९४१ र उपाध्यक्षमा दुई हजार २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै‚ वडाध्यक्षमा २५ हजार ६४‚ महिला वडा सदस्यमा १७ हजार ४६७‚ दलित महिला सदस्यमा १५ हजार ६९७ र वडा सदस्य ३६ हजार ४८८ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जानकारी दिएको छ।

सबैभन्दा बढी मधेश प्रदेशमा २४ हजार १४३ जना र सबैभन्दा थोरै गण्डकी प्रदेशमा आठ हजार ५३२ जना उम्मेदवार रहेका छन्।र

उम्मेदवारको विरोधमा वैशाख १३ गते उजुरी दिन सकिने कार्यतालिका रहेको छ। वैशाख १४ र १५ गते उजुरीमाथि जाँचबुझ गरिने आयोगले जनाएको छ। वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस