सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन, भोलि फेरि बस्ने

काठमाडौं। महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारमा भागवण्डा टुंग्याउने उद्देश्यले बसेको सत्तारुढ गठबन्धनको बैठकमा सोमबार पनि सहमति जुट्न सकेकाे छैन ।

बिहान र साँझ गरी दुई पटक बसेको गठबन्धनका शीर्ष नेताको बैठकले सहमति जुटाउन नसकेपछि मंगलबार पुन: बैठक बस्ने बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘सबै ठाउँमा सहमति जुट्न सकेन भोलि साढे ११ बजे बैठक बसेर टुंग्याउँछौं’ उनले पत्रकारहरुसँग भने ।

उपमहानगर र उपमहानगरको भागबण्डका विषयमा टुंगो लगाउन यसअघि आज बिहान पनि बैठक बसेको थियो। सबै दलले आआफ्नो अडान नछाडेपछि बिहानको बैठक ३ बसेर बिना विष्कर्ष सकिएको थियो।

बैठकमा विशेषगरी ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँडका बारेमा छलफल भएपनि सहमति जुट्न सकस भएको हो । स्रोतका अनुसार नेपाली काँग्रेसले ६ वटै महानगरपालिका नछोड्ने अडान राखेका छ भने उपमहानगरको हकमा पनि ६ भन्दा बढी दावी गरेको छ ।

त्यसैगरी माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक एकवटा महानगर आफुलाई चाहिने अडान राखेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस