आयल निगमको कोष रित्तियो, अब पेट्रोल खरिद गर्न नसक्ने

काठमाडौं । नेपाल आयल निगम निरन्तर घाटामा जाँदा पेट्रोलियम पदार्थ आयात गर्न नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्दात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन ।

भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रूपमा बुझाउनुपर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयातमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताए ।

‘अबको २३ तारिखमा आइओसीलाई १४ अर्ब जति बुझाएपछि मात्रै पेट्रोलियम पदार्थ सहज तरिकाले आपुर्ति हुन्छ तर अहिलेसम्म मूल्य स्थिरीकरण कोषमा २५ करोड रुपैयाँ बाँकी छ, अन्त कतै पनि कुनै कोषमा रकम बाँकी छैन्,’ प्रवक्ता उपाध्यायले भने ।

उनकाअनुसार पेट्रोलियम पदार्थको मागअनुसार आईओसीलाई नियमित रूपमा बुझाउने रकममा १४ दिनपछि नै दुई अर्ब रुपैयाँ नपुग्ने देखिसकेको छ ।

गत २२ चैतमा अन्तिम पटक मूल्यवृद्धि गर्दा पनि गत महिना नौ अर्ब २७ करोड घाटा ब्योहोर्नु परेको सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८÷७९ को हालसम्म ३३ अर्ब रूपैयाँ घाटामा रहेको छ ।

स्थिरिकरण कोषमा पनि २५ करोड मात्रै मौज्जाद रहेपछि निगमले बैंकसँग ऋणका लागि आग्रह गरेको छ तर कुनै निर्णय आइनसकेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस