गृहिणीको पिरलोः महंगो भो भान्सा

बिजौरी । तुलसीपुर उपमहानगरपालिका–१८ की गृहिणी आकृति खड्का खाने तेलको भाउ सुन्दा झसंग भइन् । अघिल्लो महिना उनले पाँच लिटर तोरीको तेलको स्थानीय मिलमा १७ सय ५० रुपैयामा खरीद गरेकी थिएन् तर एक महिनाकै अवधिमा यो मुल्य वृद्धि भएर २ हजार १ सय रुपैया पुगेको छ ।

स्थानीय तोरीको तेलमा मात्र होइन, आयातित सोयाबिनको तेल पनि दुई सय रुपैया प्रतिलिटरबाट ३ सय रुपैया प्रतिलिटर पुगेको आकृतिले बताइन् । पसलेहरुले उतैबाट महंगिएर आएको बताउँदै आएका छन् । तुलसीपुर–१८ कै जनप्रतिनिधि धनबहादुर बस्नेतले पनि तेलदेखि चामलसम्मको मुल्य बढेको बताए । सबै उपभोग्य सामानको मुल्य इन्धनको मुल्यवृद्धिका कारण भएको र स्थानीय सरकारले यसलाई सन्तुलनमा ल्याउन नसक्ने पनि उनको अभिव्यक्ति थियो ।

खाने तेल मात्र होइन, स्थानीय उत्पादन मन्सुली चामलको मुल्य पनि प्रतिकिलो ८० रुपैयाबाट बढेर दुई महिनाको बीचमै प्रतिकिलो ९० रुपैया पुगेको तुलसीपुर–१७ की गृहिणी पुस्पा रिजालको भनाइ थियो । तेल चामलमा मात्र होइन, नेपालमै उत्पादन भएका जंकफुडमा पनि कम्तिमा १५ प्रतिशतसम्म मुल्यवृद्धि भएको पुष्पाले बताइन् । तरकारीको मुल्य पनि अत्यधिक वृद्धि भएको छ । हरियो तरकारीसँगै लसुन, प्याजसम्मको मुल्य अत्यासलाग्दो रुपमा वृद्धि भएकाले गृहिणीहरुले भान्सा उतार्न गाह्रो भएको बताएका छन् । लसुनको मुल्य प्रतिकिलो पाँच सय रुपैया पुगेको छ । यस अघि १ सय ५० रुपैया प्रतिकिलोमा उपभोक्ताले पाउँथे । प्याजको मुल्य प्रतिकिलो ८० रुपैया त बोडि÷भिण्डी र तिते करोलाको प्रतिकिलो मुल्य प्रतिकिलो २ सय रुपैया पुग्दा उपभोक्ताहरु महंगीको मारमा प्रताडित भएका छन् ।

अघिल्लो वर्ष यही सिजनमा बोडी, भिन्डी, तितेकरेलालगायतका हरियो तरकारी प्रतिकिलो ३० रुपैयादेखि ४० रुपैयासम्म पथ्र्यो । टमाटरको मुल्य पनि एक महिनाकै अवधिमा ३० रुपैया प्रतिकिलोबाट वृद्धि भएर प्रतिकिलो ७० रुपैयासम्म पुगेको तरकारी व्यवसायी शंकर रेग्मीले बताए । स्थानीय उत्पादननै अझै नआइसकेको तथा बाहिरी जिल्लाबाट मगाउनुपर्ने भएकाले तरकारीको मुल्य अत्यधिक बढेको रेग्मीले बताएका छन् ।

भान्साका सामान मात्र होइन, निर्माण सामाग्रीमा समेत अत्यधिक महंगी बढेकाले केही नागरिकले भौतिक निर्माणको योजनालाईनै थाती राखेका छन् । ‘यसै महिना नयाँ घरको जग बसाउने कार्यक्रम थियो, तर पसलमा सोचेअनुसारको साइजमा छडनै पाइएको छैन, पाए पनि निकै महंगो भएको छ’ तुलसीपुर–१७ झिंगैका मान बहादुर बस्नेतले भने, केही महिनापछि मात्रै घर बनाउने योजना बनाएको छु ।

निर्माण व्यवसायीहरुले पनि छडको अभाव र इन्धनको मुल्यवृद्धिसँगै ढुवानी भाडामा पनि वृद्धि भएका कारण हार्डवेयरका सबै सामानको मुल्य १० देखि २५ प्रतिशतसम्म बढेको बताएका छन् । त्यस्तै सिमेन्टको मुल्य पनि ढुवानी भाडा बढेकै कारण प्रतिबोरा ३५ रुपैयासम्म महंगो भएको पनि हार्डवेयर व्यवसायीले बताएका छन् । ‘मुल्यवृद्धि मात्र होइन, खोजेको साइजमा फलामे छड समेत बाहिरबाट आउन छाडेको छ’, तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी स्थित खड्का हार्डवेयरका सञ्चालक रेश्मीराज खड्काले भने । एक महिना अघि प्रतिकिलो ९५ रुपैयामा विक्रि गर्ने छडको मुल्य बढेर प्रतिकिलो १ सय ३५ रुपैया पुगेको खड्काले बताएका छन् । त्यसैगरी शौचालयमा प्रयोग गरिने पिभिसि पाइपमा समेत प्रतिपिस १ सय रुपैया वृद्धि भएको छ ।

किन भो अत्यासलाग्दो मुल्यवृद्धि !

निर्माण व्यवसायीले फलामे छड बनाउन चाहिने आवश्यक आइरन र रसियालगायतका समुद्रपारका मुलुकहरुबाट आउने, सनप्mलावरको तेल पनि उतैबाट आउने तथा पेट्रोलियम पदार्थ पनि रसिया लगायतका मुलुकबाट आउने बताएका छन् । रसिया र युक्रेनबीच लगातार एक महिनादेखिको शसस्त्र युद्धको प्रभावले ती सामानहरुको अभाव हुन थालेको व्यवसायीको भनाइ थियो । अभावसँगै मुल्य समेत बढेको उनीहरुको भनाइ रहेको छ ।

मुल्यवृद्धिको जड इन्धनको मुल्यवृद्धि भनिएको छ । यही कारण सार्वजनिक यातायात भाडामा पनि १५ प्रतिशत वृद्धि नेपाल सरकारले गरेको छ । नेपाल सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनमा मुल्यवृद्धि गर्न सहमति दिए पनि यातायात व्यवसायीहरुले भने स्थानीय रुटमा पनि भाडा वृद्धि भएको भन्दै थप भाडा लिन थालेको यात्रुहरुले बताएका छन् ।

दुई महिनाको बीचमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ३५ रुपैया थियो । अहिले १ सय ५५ रुपैया प्रतिलिटर पुगेको छ । डिजेलको मुल्य पनि त्यहि अनुपातमा बढेपछि नेपाल सरकार यातायात विभागले सार्वजनिक यातायात भाडामा समेत वृद्धि गर्न सहमति दिएको हो । तर ढुवानी भाडामा कति वृद्धि भएको भन्नेमा सरकार अलमलमा परेको छ । ढुवानी व्यवसायीहरुले आफुखुसी भाडा बढाएका कारण अन्यत्रबाट आयातित कुनै पनि सामानको मुल्य स्वतः रुपमा वृद्धि भएको व्यवसायीहरुको तर्क छ ।

कतिपय व्यापारीहरुले सामानमा अंकित मुल्य भन्दा पनि बढी लिएर सामान बेच्ने गरेका छन् । यसमा स्थानीय सरकारबाट अर्थपपुर्ण अनुगमन हुन सकेको छैन । पहिलो निर्वाचित सरकारको कार्यकाल सकिन करीव एक महिना मात्रै बाँकी रहँदा स्थानीय सरकारका उपभोक्ता हितका कार्यक्रम समेत अलपत्र अवस्थामा रहेका छन् । युक्रेन र रसिया युद्धका कारण दाङमा उत्पादन भएको तोरीको तेलको मुल्य किन वृद्धि भयो भन्ने उपभोक्ताहरुको प्रश्न अनुत्तरित रहेको छ ।

साक्षी खबरबाट

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस