बिजौरी। टाइफाइड रोग बिरूद्ध सुरक्षित खोप र यसको प्रभावकारिता सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी बुधबार तुलसीपुर १८ अन्तर्गत नगर स्वास्थ्य केन्द्र हेमन्तापुरमा सम्पन्न भएको छ ।
स्थानीय जनप्रतिनिधि, सरोकारवालालगायतको सहभागितामा सो गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा प्रशिक्षण दिँदै नगर स्वास्थ्य केन्द्रका प्रमुख डिल्ली शर्माले टाइफाइड रोग कसरी सर्दछ ? यो रोग कुन कुन उमेर समुहका मानिसहरुमा बढी देखापर्छ ? यो रोगको मुख्य लक्षणहरू के के हुन ? लगायत यस रोग सम्बन्धी अन्य कुराहरुको बारेमा स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रम सँगै सरोकारवालाहरुसँग यस रोगको पहिचान, निदान कसरी गर्न सकिन्छ ? के टाइफाइड बिरुद्धको खोप सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा छलफल भएको थियो । राष्ट्रिय अभियानको रुपमा यहीँ चैत २५ गतेदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने १५ महिनादेखि १५ बर्ष उमेर समुहका सबै बालबालिकाहरुलाई खोप कार्यक्रममा सहभागिता जनाउन समेत गोष्ठीले अनुरोध गरेको छ ।
प्रत्येक बालबालिकाहरुले आफ्नो स्थानीय तहको वडामा रहेका तोकिएका विद्यालय र स्वास्थ्य संस्थाबाट खोप प्राप्त गर्न सक्नेछन् । साथै १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुले यस अघि टाइफाइड बिरूद्धको खोप लगाएको भए पनि यो अभियानमा १ मात्रा खोप लिनुपर्ने शर्माले बताए ।
उक्त अभिमुखीकरण गोष्ठीमा तुलसीपुर १८ का कार्यवाहक वडा अध्यक्ष धन बहादुर बस्नेत, सरोकारवाला शिव थापा, युवा क्लवकी अध्यक्ष तुलसा बुढाथोकीलगायतले यस खोपबाट हुने असर र यसको दीर्घकालीन समस्याहरुका विषयमा आफ्ना धारणा ब्यक्त गरेका थिए ।