घोराही । प्रेस काउन्सिल नेपालले थारु भाषामा आचार संहिता प्रकाशित गरी लोकार्पण गरेको छ । प्रेस काउन्सिल नेपालले सोमबार घोराहीमा आयोजित थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीमा थारु भाषाको पत्रकार आचारसंहिताको लोकार्पण गरिएको हो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा मा सो कार्यक्रम भएको थियो । थारु भाषाको आचार संहिता पुस्तिका प्रकाशन गरेपछि थारु भाषामा पत्रकारिता गर्ने र आम पाठकलाई यसले आचार संहिता पालनामा सघाउ पुर्याउने काउन्सिलले विश्वास लिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख चौधरीले थारु भाषामा लेखपढको अभ्यास बढाउन आवश्यक रहेको भन्दै उपमहानरपालिकाले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि ब्यवहारमा लागु गर्न चुनौती देखिएको बताए । साथै उनले घोराही उपमहानगरपालिकाले थारु भाषामा पाठ्यक्रम तयार पारेको र आगामी शैक्षिक सत्रदेखि ऐच्छिक विषयकारूपमा पठनपाठनमा ल्याउने तयारी भएको बताए । त्यस्तै थारु भाषामा पत्रकारिता गर्नका लागि भाषा आवश्यक पर्ने भन्दै सबैभन्दा पहिले भाषाको संरक्षण गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले भाषालाई जोगाउने काम व्याकरणले गर्ने भन्दै व्याकरण बनाउनेतर्फ लाग्न सुझाव दिए । उनले नागरिकलाई सशक्त बनाउने पहिलो दायित्व पत्रकारिताको रहेको भन्दै यसका लागि सिंगो पत्रकारिता जगत लाग्नुपर्नेमा जोड दिए।

त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले थारु भाषा लोप हुँदै जान थालेको बताए । उनले भाषा, कला संस्कृतीलाई बचाउन सञ्चार क्षेत्रको ठुलो भूमिका हुने बताए ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आचार संहिताको पालना गर्ने काम पत्रकारको रहेको भन्दै आचार संहितालाई कानुन भन्दा माथि राखेर पालना गर्नुपर्ने बताए । उनले विभिन्न भाषा भाषिका संचारमाध्यमहरु संकटमा रहेको भन्दै संकटमा रहेका संचारमाध्यमलाई कसरी जगेर्ना भन्ने बारेमा प्रेस काउन्सिलले ध्यान दिने बताए । उनले कसैले पनि प्रश्न उठाउन नसक्ने गरी पत्रकारिता गर्न पनि सबै पत्रकारहरुलाई आग्रह गर्रे । ।
कार्यक्रम थारु भाषाको पत्रकारिताको अवस्था र चुनौतीका बारेमा र थारु भाषामा पत्रकारिता आचार संहिता पालनाको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । थारु भाषाको पत्रकारिताको अवस्था र चुनौतीका विषयमा डा. कृष्णराज सर्वाहारीले कार्यपत्र प्रस्तुत गरेका थिए भने पत्रकार लक्की चौधरीको थारु भाषाको पत्रकारिता विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । सर्वहारीले प्रस्तुत गरेको कार्यपत्रमाथि कुलविर चौधरीले टिप्पणी गरेका थिए भने चौधरीले प्रस्तुत गरेको कार्यपत्रमाथि ठाकुरसिंह थारुले टिप्पणी गरेका थिए ।
त्यस्तै कार्यक्रममा थारु पत्रकार संघ नेपालले ७ बुँदे घोषण पत्र प्रस्तुत गरेको थियो । सो कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी, थारुपत्रका संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहित, पत्रकार केपी घिमिरे, लगायतले बोलेका थिए ।
काउन्सिलका सदस्य शरद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन काउन्सिलका प्रवक्ता दिपक खनालले गर्रेका थिए । कार्यक्रममा दाङलगायत विभिन्न जिल्लाका थारु पत्रकारहरुको सहभागिता रहेको थियो ।


