काठमाडौं । त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ । दुवै टिमको यो दोस्रो खेल हो । नेपाल र मलेसियाले यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरिसकेका छन् ।
शृङ्खलाकै पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो भने मंगलबार भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो ।
नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।
गत वैशाखमा नेपालमै भएको नेपाल र नेदरल्याण्ड्ससहितको त्रिकोणात्मक शृङखला खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि मलेसियाले पीएनजीलाई हराएर सनसनी मच्चाएको छ । त्यसैबेला नेपालले दुवै खेलमा मलेसियालाई पराजित गरेको थियो ।
अहिलेसम्म टी–२० मा नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेको छ । जसमा ६ खेल टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । त्यसमा नेपालले पाँच खेल जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।