
देउखुरी । नेपालको संविधानले स्थानीय बजार व्यवस्थापनको काम स्थानीय सरकारको एकल अधिकारको सूचीमा राखेको छ । धेरैजसो स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको बजार व्यवस्थापन निर्देशिकालाई अपनाए पनि निर्देशिकाअनुसार व्यवहार भने नगरेको पाइएको हो । जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिन लाग्दा पनि दाङका स्थानीय तहले बजार अनुगमन र उपभोक्ता हित संरक्षणमा कामै सुरु गरेको छैनन् । जिल्लामा दशवटा स्थानीय तह मध्य कुनै पनि स्थानीय तहले आफ्नो पालिका अन्तर्गत पर्ने बजार क्षेत्रलाई व्यवस्थित नै नगरी आफ्नो कार्यकाल पुरा गरेर पुनः चुनाबी मैदनामा होमिदै छन् । गत २०७४ को स्थानीय तहको निर्वाचनमा आआफ्नो पालिका अन्तर्गत पर्ने बजार क्षेत्रलाई नमुना र प्रदेशकै उत्कृष्ट बजारको रुपमा विकास गर्ने भनेर घोषणपत्र बोकेर जनता र उपभोक्तहरुको घरदैलोमा पुगे । तर, त्यो नारा घोषणपत्रमै सीमिति हुन पुग्यो ।
बजार व्यवस्थापन गर्न पाँच वर्षसम्म विभिन्न समिति उपसमिति गठन भए । उक्त समितिमा बस्न र पस्न कार्यकर्ताको निकै होडबाजी चल्यो तर, ती कार्यकर्ताले समेत माखोसम्म मारेनन् । सबै पालिकाले कानुन त बनाए तर, कुनै एक स्थानीय तहले कार्यान्वयन गरेको रेकर्ड छैन । बरु दिनप्रतिदिन बजार कुरुप बन्दै गयो, तर व्यवस्थित गर्नतर्फ कसैको ध्यान पुग्न सकेन । समितिको बैठकको नाममा खाजा र भत्ता पच्यो तर, बजारको मुहारमा परिवर्तन आउन सकेन ।

लमहीमा कानुन विपरित व्यवसायी गर्नेको लर्को
कानुन विपरित लमही बजार क्षेत्रको मुख्य चोकस्थित सडकपेटीमा यत्रतत्र छरिएर व्यवसायी गरिएको छ । जस्ले गर्दा दाङ देउखुरीकै केन्द्र विन्दु मानिने लमही बजार क्षेत्र कुरुप बन्दै गएको छ । लमही नगरपालिका बजार क्षेत्रका सडक पेटी अतिक्रम गरी स्थानीयहरूले व्यवसायी सञ्चालन गर्न थालेपछि पैदल यात्रुहरू जोखिममा परेका छन् । लमहीको बसपार्कदेखि बजारको मुख्य चोकदेखि लमही अस्पताल जाने सुनखोली चोकसम्मको सडकपेटी अतिक्रम गरी व्यवसायी सञ्चालन गर्न थालेपछि दुर्घटनाको जोखिम बढाएको हो । बजारका मुख्य चोकमा रहेको सडकपेटीमा पसल सञ्चालन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने कार्य गरेर स्थानीयले सडकपेटी अतिक्रम गरेका छन् । पैदल यात्रुको लागि निर्माण गरिएको सकडपेटी अतिक्रम भएपछि पैदल यात्रु भने मुल सडकबाट यात्रा गर्न बाध्य छन् ।
यसरी सडकपेटी अतिक्रम गरी रहदा पनि नगरपालिका, ट्राफिक प्रहरी, सडक कार्यालय जस्ता सम्बन्धित निकायले यस विषयमा कुनै चासो नदेखाएको लमहीका स्थानीयले गुनासो पोखेका छन् । व्यक्तिगत फाइदाको लागि बजारको स्वरूप बिग्रिने गरी सार्वजनिक सडकपेटी अतिक्रम गर्दा पनि लमही नगरपालिकाले बजार व्यवस्थापनमा कुनै चासो नदेखाएको स्थानीय व्यवसायीहरु बताउँछन् । बजार व्यवस्थापनमा सबैभन्दा स्थानीय सरकारले चसो लिनुपर्ने हो तर, बितेको पाँच वर्षसम्म यस विषयमा कुनै पहल कदमी लिइएको छैन, लमहीका स्थानीय शसिराम नेपालीले भने । यस्तै लमही बजार क्षेत्रमा उचित रुपमा पार्किङ्ककमो व्यवस्था नहुँदा र नालामाथि सल्याब लगाएर बनाइएको सडकपेटीमा व्यापारीहरूले व्यवसायिक सामग्रीहरू थुप्रिएपछि सडकबाट हिँड्नुपर्दा सडकमा हिँड्ने साना तथा ठुलो सवारीसाधनको ठक्करले ज्यान जाने डर भएको शसिराम नेपालीको भनाइ छ ।
सुन्दर शहरको छैन आभाष
शहर बजार भन्ने साथ हेर्दै मनमोहक हुनु पर्ने हो तर, त्यो आभाष पाइदैन । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि धेरै जसो जनप्रतिनिधिहरुको ध्यान आफ्नो पालिका विकास गर्नेमा विषयमा प्रतिस्पर्धा नै गरे तर, दाङका एकजना जनप्रतिनिधि भएनन् कि, हामीले पनि आफ्नो पालिका युद्धस्तरमा विकास र परिवर्तन गर्नुपर्छ भनेर । बस उनीहरुको ध्यान कहाँ होटल उद्घाटन छ, नयाँ सञ्चालनमा आएको कहाँ ब्युटिपार्लर उद्घाटन गर्नुपर्छ, यस्तैयस्तै सामान्य भन्दा सामान्य त्यस्ता कार्यक्रममा आफ्नो कार्यकाल बिताए तर, आफ्नो पालिका हेर्दै लोभलाग्दो जस्तो बनाउने भूमिका कसैले निभाउन सकेनन् ।
अव्यवस्थित पार्किङ्
लमही बजार क्षेत्रमा गरिने अव्यवस्थित पार्किङले गर्दा बजार क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । बजार क्षेत्रमा रहेका विभिन्न गल्लीहरुमा अवस्थित विभिन्न संघसंस्था तथा कार्यालयमा आवतजावत गर्नको लागि दैनिकरुपमा गरिने पार्किङले गर्दा बजार नै अस्तव्यस्थ बन्दै गएको छ । गल्लीमा बैंक, हार्डवेयर, किराना पसल, फेन्सी पसल, मेडिकललगायतका पसलहरु रहेका छन् । लमही बजार सुन्दर र सभ्य भएको भए पनि पछिल्लो समय पार्किङ अभावले अस्त व्यस्त देखिन्छ । बढ्दो शहरीकरणले बजार क्षेत्रमा जथाभावी पार्किङ हुँदा बजार अस्तव्यस्थ भएको बुझाइ छ । लमही बजार क्षेत्रमा पछिल्लो समय बैंक तथा वित्तीय संस्था धेरै खुलेका छन्, जसले गर्दा कार्यालय धाउने सेवाग्राहीले आफ्नो सवारी साधन सडकमै अलपत्र छोडेको हुन्छन् । पछिल्लो समय बजार क्षेत्रमा अव्यवस्थितरुपले पार्किङ मनलाग्दी भएसँगै पार्किङले गर्दा बजार दुर्गन्धित समेत हुँदै गएको छ । सरोकारवाला निकायले व्यवस्थित पार्किङ्को निर्माणमा चासो नदिएका कारण गल्ली पछाडिको भागमा निजी घरधनीले कब्जा गरेको स्थानीयको गुनासो छ ।