दाङमा दस स्थानीयतह मध्ये सबैभन्दा बढी मतदाता घोराही उपमहानगरमा

दाङ । स्थानीय निर्वाचनमा दाङमा एक लाख बढी मतदाता थपिएका छन् । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा जिल्लामा ४ लाख ९ हजार ९ सय जना मतदाता छन् । ०७४ को निर्वाचनमा २ लाख ९१ हजार १७२ जना मतदाता थिए । पाँच वर्षको अवधिमा जिल्लामा एक लाख १८ हजार ७२८ मतदाता थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय जनाएको छ ।

निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण भण्डारीकाअनुसार महिला मतदाता संख्या २ लाख ९ हजार ९९ र पुरुष मतदाता संख्या २ लाख ७ सय ९९ जना छन् ।

यस वर्ष दाङमा १५३ मतदान स्थल र ५६१ मतदान केन्द्र छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाभर १५१ मतदान स्थल र ३५१ मतदान केन्द्र थिए ।

दाङ जिल्लामा दश स्थानीय तह छन् । सबैभन्दा धेरै मतदाता घोराही उपमहानगरपालिकामा र सबैभन्दा कम राजपुर गाउँपालिकामा रहेको प्रदेश निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए ।

उनकाअनुसार घोराहीमा १ लाख १२ हजार ९२७, तुलसीपुर उपमहानगरपालिकामा १ लाख ७ हजार ६७७ र लमही नगरपालिकामा ३४ हजार ३८२ मतदाता छन् ।

यसैगरी राजपुर गाउँपालिकामा १५ हजार ७२३, बबई गाउँपालिकामा २२ हजार १४४, राप्ती गाउँपालिकामा ३२ हजार ३२३, शान्तिनगर गाउँपालिकामा २० हजार ८६३, गढवा गाउँपालिकामा २९ हजार ८०२, बंगलाचुली गाउँपालिकामा १५ हजार ९५३ र दंगीशरण गाउँपालिकामा १८ हजार १०६ जना मतदाता छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस