धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ४ बालकको मृत्यु

जनकपुरधाम । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ । सोमबार राति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेलले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमा ५ जना घाइते भएका थिए । घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याए पनि चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ बर्षीय राहुल यादव, १२ बर्षका लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ बर्षका सुमित यादव रहेको डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा सबैला २ का १९ बर्षीय सुरेन्द्र यादव घाइते भएका छन् । घाइते यादवको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । घाइते यादवको भनाइअनुसार पाँचै जना सवार भएको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बस्नेतले बताए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस