लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुखले दिए राजीनामा

दाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले राजिनामा दिएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते उनलाई प्राधिकरणको सीईओ नियुक्त गरेको थियो । उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजिनामा दिएको घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘देश प्रति गद्दारी गर्नुभन्दा मान्छे मात्र भएर बस्नु उचित ठाने ।’ उनले राजनीतिमा दिनुको मुख्य कारण भनेको लुम्बिनी प्रादेशिक अस्पताल ठेक्का रद्द हो ।

त्यस्तै २०७८ फागुन २ गते पूर्वाधार विकास समितिको बैठकको निर्णय अनुसार २०७८ फागुन ८ गते लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्र प्रकाशित गरेको र शुरुका मितिदेखि नै केही संकुचित रहेको विषय आएपछि मिलेमतो हुनसक्ने भन्दै पटक पटक सम्बन्धित निकायलाई अनुरोध गरेको समेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनकाअनुसार उक्त ठेक्काको लागि २ वटा व्यवसायीले मात्र बोलपत्र दर्ता गरेका थिए । ति २ निर्माण व्यवसायीलाई हार्डकपी पेश गर्न ३ दिनको समय दिइएकोमा दुवै फर्मको हार्डकपी लिएर एक जना मात्र आएपछि उक्त कार्यले थप मिलेमतोको आशंका पुष्टि गरायो ।

७०० करोडको ठेक्कामा प्रतिस्पर्धा हुँदा र नहुँदा राज्यलाई करिब १५० करोडको क्षति हुनसक्ने भन्दै मैले गम्भिर भएर सोचे र ठेक्का रद्द गर्दा ‘ दलाल को दलाल’ बन्नु नपर्ने निर्णयसहित सार्वजनिक खरिद ऐन २०६३ को दफा २४ बमोजिम लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का रद्द गरेको उनले जनाएका छन् ।

उनले २०५६ सालदेखि जुन पार्टीसँग हालसम्म आवद्ध थिए । आजको मितिदेखि सम्पूर्ण जिम्मेवारीबाट विश्राम लिएको समेत जानकारी दिएका छन् । उनले आफू कुनै न कुनै रूपले देश (चार किल्लाको माटो) निर्माणको अभियानमा रहने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस