बेलझुण्डी । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद अध्ययन संस्थानका डीन प्रा. डा. सन्जय पोख्रेल पदीय जिम्मेवारीबाट बाहिरिएका छन् । डीन पोख्रेलले आफु प्राध्यापन पेशामा मात्र रहने चाहना अनुरुप डीनको जिम्मेवारीमा नरहने भन्दै गत विहीबार आफ्नो पदबाट राजिनामा दिएको पत्रकार सामु बताएका छन् । तर उनले राजिनामा पत्र कहाँ दिए र बोधार्थ कसलाई दिए भन्ने विषयमा कुनै पनि निकायले आधिकारिक पुष्टि गरेका छैनन् ।
विश्वविद्यालयका उपकुलपति यादव लामिछानेले डिनको राजिनामाबारे आफुलाई औपचारिक र अनौपचारिक कुनै पनि रुपमा जानकारी नभएको बताएका छन् । ‘तपाइले भनेर मात्रै यो जानकारी पाएँ, यहाँ कहिँकतै पनि यो खबर सुनेको छैन, उहाँसँगको भेटमा पनि यो विषयमा कुनै कुरा भएन’, उपकुलपति लामिछानेले भने । यो अवस्थाले उनको राजिनामा पनि केही वार्गेनिङका लागि हुन सक्ने पनि आशंका उत्पन्न भएको छ ।
डा. पोख्रेल लगातार दुई कार्यकाल डीन नियुक्त भएका थिए । उनको पहिलो कार्यकाल गत फागुन महिनामा सकिएको थियो । उनलाई विश्वविद्यालय कार्यकारी परिषदले पुर्न चार वर्षका लागि डीन नियुक्त गरेको थियो । ‘आफुले चाहेअनुसार काम गर्न सकेको जस्तो अनुभूति हुन सकेन, यो अवस्थामा धेरै समय उही पदीय जिम्मेवारीमा रहिरहन उचित ठानिन र राजिनामा दिएको छु’, डीन पोख्रेलले भने । उनले राजिनामाबारे अन्य थप केहि बोल्न चाहेनन् । उनी बाहिरिनु पर्ने राजनीतिक कारण भने होइन । उपकुलपति, रेक्टर, रजिष्टार र सेवा आयोग अध्यक्ष समेत एमालेकै निकट भएका कारण सिफारीसमा परी नियुक्त भएको कर्मचारी श्रोतले बताएको छ । श्रोतकाअनुसार चारै पदाधिकारीबीच राजनीतिक वेमेल भने छैन ।
डीनले नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धित निकायमा राजिनामा दिएको र त्यसको बोधार्थ विश्वविद्यालय पदाधिकारीलाई समेत दिएको बताएका छन् । यद्यपि नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीले भने राजिनामा दिएको औपचारिक पुष्टि गरेका छैनन् । ‘उहांको राजिनामाबारे कुनैपत्र यो सचिवालयमा आएको छैन’— उपकुलपतिको सचिवालयका अधिकारी प्रदिप गौतमले भने ।
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद संस्थान माताहतको केन्द्रीय आयुर्वेद विद्यापीठ विगत केही समयदेखि अस्तव्यस्त छ । कर्मचारीको नियमित उपस्थितिमा समस्यासँगै प्राध्यापकहरुले क्याम्पसमा नियमित हाजिरी जनाउनै इन्कार गर्दै आएका छन् । प्राध्यापकहरु क्याम्पसमा नियमित उपस्थिति नहुँदा विद्यार्थीको पठनपाठनमै व्यापक समस्या देखिएको छ । यहाँ कार्यरत प्राध्यापकहरु क्याम्पसमा पढाउनुभन्दा भाइभाका लागि अन्य क्याम्पसमा दौडधुप बढी गर्ने प्रवृत्तिका कारण विद्यार्थीको पढाइमा समस्या मात्र होइन परीक्षाको सेमेस्टर पनि प्रभावित हुँदै आएको छ । साढे ५ वर्षे विएएमएस कोर्ष पुरा हुन साढे ७ वर्षसम्म लागेको छ ।
आवश्यकताअनुसार जनशक्तिको व्यावस्थापनमा विश्वविद्यालय कार्यकारी परिषदनै गम्भीर बन्न नसक्दा ५१ जना प्राध्यापकको दरबन्दी भए पनि १२ जना प्राध्यापकको भरमा विएएमएस क्याम्पस चल्दै आएको छ । प्रयोगशालामा आवश्यक जनशक्तिको पनि व्यवस्थापनमा विश्वविद्यालय पदाधिकारीहरु कानमा तेल हालेर बसेको विद्यार्थीका अभिभावकहरुले बताएका छन् । विश्वविद्यालयका पदाधिकारी भने पछिल्लो कार्यकालमा विश्वविद्यालयका यसअघि चल्दै आएका शैक्षिक कार्यक्रमलाई कोल्यास्प पार्ने रणनीति अनुरुप नयाँ कार्यक्रमका नाममा सिनेटबाट बजेट स्वीकृत गराउँदै आएका छन् ।
‘डीनको राजिनामा आयुर्वेद अध्ययन संस्थानले निर्माण गर्ने भनिएको वोटानिकल गार्डेनसँग पनि जोडिएको छ’, एक जना विश्वविद्यालयका अधिकारीले भने, तीन वर्ष अघि वोटानिकल गार्डेन निर्माणका लागि आएको करीव २ करोड रुपैया हरेक वर्ष फ्रिज हुँदै आएको छ । वोटानिकल गार्डेन निर्माणको डिपिआर दुई÷दुई पटक बन्यो, तर स्वीकृत अझै भएको छैन । डिपिआरमा कहिले भिसिको असहमति हुन्छ त कहिले रजिष्टारको विमती, यहि कारण हरेक वर्ष बजेट फ्रिज हुँदै आएको हो । ‘दुई÷दुईपटक डिपिआर बनायौं, कहिले भिसिले यो मिलेन भन्नुहुन्छ, कहिले रेक्टरले यो मिलेन भन्नुहुन्छ’, डिन पोख्रेललाई उदृत गर्दै विश्वविद्यालय श्रोतले भनेको छ । बजेट प्राप्त भएर पनि तीन वर्षसम्म वोटानिकल गार्डेन निर्माण हुन नसक्दा यहि गार्डेनको अवलोकन गर्न आफ्नै पैसा खर्च गरेर कास्की सम्म धाउनुपर्ने बाध्यता रहेको छ ।
चुलियो हाजिर विवाद, डिजिटल हाजिरीको सिस्टम बिगारियो
त्यस्तै आयुर्वेद अध्ययन संस्थानकै माताहतको आयुर्वेद केन्द्रीय विद्यपीठमा हाजिरीका विषयमा समेत विवाद सिर्जना भएको छ । क्याम्पस प्रशासनले कर्मचारी र प्राध्यापक दुवै समुहलाई क्याम्पसमा अनिवार्यरुपमा हाजिरी गर्न निर्देशन दियो । तर प्राध्यापकहरुले आफुहरुले कक्षा भएको दिन मात्रै उपस्थिति जनाउने भन्दै डिजिटल हाजिरीमा असहमति जनाएपछि कर्मचारीले पनि हाजिरी नगर्ने बताउँदै डिजिटल हाजिरीका सिस्टममै अवरोध पुराएको बताइएको छ ।
क्याम्पस प्रशासनले कार्यरत प्राध्यापकहरुलाई थप इन्सेन्टिभ समेत दिएर नियमित क्याम्पसमा आउने गरी नियुक्त गरेको थियो । तर प्राध्यापकहरुले क्याम्पसमा क्षिणका लागि ओपिडि सेवा नचलेको र कक्षा समयभन्दा बाहेक क्याम्पसमा बसिरहनुको औचित्य नभएको भन्दै हाजिरी वहिस्कार गरेका हुन् । उनीहरुले प्राध्यापक भनेको सम्मानित पेशा भएको स्वदावी गर्दै आफुहरु आफ्नो कक्षाको पालो नपरेको दिन क्याम्पस आउनुनपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयमा समेत यस्तै नियम रहेको उनीहरुले दावी गरेका छन् ।
यद्धपि कर्मचारीहरुको भने अर्कै आरोप छ । ‘प्राध्यापकहरुलाई नियमित उपस्थितिका लागि विश्वविद्यालयले नियमित पारीश्रमिकमा ५० प्रतिशत इन्सेन्टिभ थप गरेर उपलव्ध गराउने गरेको छ, तर उहाँहरुले नियमित हाजिरी गर्नुनपर्ने हामीहरुलाई मात्र नियम किन’, एक कर्मचारीले भने, व्यवहार र कानुन सबैलाई एकै हुनुपर्दछ । यसले क्याम्पस प्रशासनलाई थप तनाव बनाएको छ ।