तुलसीपुर । तुलसीपुर उद्याोग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभाको उत्सव मनाइरहँदा वहब फेरी कोइलाबास भन्सार नाका र टरिगाउँ विमानस्थलकै सेरोफोरोमा केन्द्रित भएको छ । घोडा खच्चरले ढुवानी गर्दा पनि मुलुककै दोस्रो ठुलो भन्सार नाका अहिले पक्कि बाटो बन्दा पनि चल्न सकेको छैन । वि. सं २०११ सालमा २२ जना यात्रु बोक्ने जहाज ल्याण्ड गर्ने टरिगाउँ विमानस्थलको धावनमार्ग कालोपत्रे भएर पनि सोह्र सिटे जहाज तुलसीपुरमा नियमित ओराल्न धौधौको अवस्थामा छ । साधारणसभामा सहभागीहरुको जोडदार आवाज यी दुवै विषयमा केन्द्रित थियो ।
यो साधारणसभा यस मानेमा पनि विशेष र रोचक बनेको थियो कि सभामा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत र तुलसीपुर उद्योग वाणिज्य संघकै मातृसंस्था दाङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठका भावना पनि मेलखाइरहेका थिए । दुवै उद्योगी व्यवसायी नेताका संघर्ष व्यवसायीलाई गोलवद्ध गर्दै समग्र दाङको समृद्धिको सपना थियो । दुवै अग्रज व्यवसायीले पुराना व्यावसायिक संघर्षका कथाहरु पस्के, साधारणसभामा । उहिलेको कोइलाबास जस्तै र उहिलेको हवाइ सेवाजस्तै भए पनि त अहिले दाङको समृद्धिमा कति सहजता आउँथ्यो ।
डिल्ली बहादुर बस्नेतको चिन्ता कृषि प्रधान भनिएको मुलुक अब आन्तरिक रोजगारीको समस्या र औद्योगीकरणको अभावले वालक र बृद्धाहरु मात्रै रहने बालबृद्धाश्रमजस्तै बन्ने होकि ? । ‘कम्तिमा यहाँ कृषिजन्य उद्योग सञ्चालनका लागि राज्यले तत्परता देखाएर औद्योगिक वातावरण बनाइदिएको भए त अहिले हाम्रो भान्सा यति महंगो हुने थिएन कि’, तुलसीपुर उवासंघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले यति भनिरहँदा दाङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठले बजारमा मुल्य सन्तुलनमा व्यावसायिक नेतृत्वको पनि अहम भूमिका हुने बताए ।
‘तपाइलाई तीन ५/६ दशक अघिको कुरा सुनाउँछु, ३ रुप्पेपाथी चामलको मुल्य बढेर एकसातामै २१ रुप्पे पुगेको थियो, त्यो बेला मेरै पहलमा कोइलाबास नाकाबाट थप चामल ल्याएर ७ रुप्पे पाथीमा झारेका थियौं’, श्रेष्ठले आफ्नो अनुभव सुनाए । यसको अर्थ यातायातको समस्याका कारण कृत्रिम अभावको समस्या उहिल्यैदेखि थियो । तर इच्छाशक्ति भएमा राज्यका निकायहरूसँगको समन्वयमा त्यसलाइ नियन्त्रण गर्न सकिन्छ । पछिल्लो समयमा यति सम्म पनि प्रयासहरु राज्यका निकायबाट हुन सकेका छैनन् । त्यसैले भान्सा निकै महंगो भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले पनि कोइलाबास भन्सारको पुनः सञ्चालन र टरिगाउँ विमानस्थलको स्तरोन्नतिलेनै राप्ती समृद्ध हुने बताए । त्यसमा उद्योग वाणिज्य महासंघले संघीय संयन्त्रमा पहल गर्ने आश्वासन पनि दिए ।
सोहि अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै शर्माले सरकार र निजी क्षेत्रबीच शिष्ठ साझेदारीको पनि अपेक्षा गरे । ‘राजश्व प्रशासनले मुलुकको समग्र भुगोल र अत्यावश्यक सेवाको पहुँचको विषयमा धेरै बुझेको छैन, त्यसैले व्यवसायीहरुलाई कहिकतै अशिष्ट शब्दले सम्बोधन गर्ने गरेको छ’, शर्माले भने, व्यवसायीलाई करको दर बढाएर चिढ्याउने होइन, दायरा बढाउन उपयुक्त हुने छ । उनले शिष्ट ढंगबाट व्यवसायीहरुलाई परिभाषित गर्न पनि कर प्रशासनलाई आग्रह गरे ।
सो अवसरमा विशिष्ठ अतिथि तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोर आचार्यले व्यापारीलाई पहिले थुन्ने अनि भन्ने प्रबृत्ति सरकारका तर्फबाट अन्त हुनुपर्ने माग गरे । अहिले पनि वि. सं २०३२ सालको कालोबजारी ऐनले सरकारलाई डोर्याइरहनु दुर्भाग्यको अवस्था रहेको जनाउँदै केन्द्रीय सदस्य आचार्यले यस्ता ऐनहरु समयानुकुल परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनको पनि कोइलाबास भन्सार चलायमान हुनु र टरिगाउँ विमानस्थलको स्तरोन्नतिनै राप्तीको आर्थिक समृद्धिको आधार भएको अभिव्यक्ति थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख गोपिनाथ कोइरालाले उद्योगी व्यवसायी, अडिटर र कर प्रशासनको त्रिपक्षीय सम्बन्धले मुलुक चलायमान हुने बताउँदै व्यवसायीहरुलाई राज्यले तोकेको मापदण्डको कर प्रणालीमा आउन आग्रह गरे ।
‘हामी पनि सूचना प्रविधिमा क्रमशः जोडिइसकेका छौं, अब करदाताले दिनभर कर कार्यालयमा आएर कर बुझाउन लाममा लाग्नुपर्ने अवस्था छैन’, राजश्व कार्यालय प्रमुख कोइरालाले भने, टिकटक बनाउन सिक्ने र भाइबरमा कनेक्ट हुन जान्ने नागरिकले चाहेमा करको अनलाइन सिस्टममा जोडिन कुनै समस्या छैन । साथै उनले मिसम्याचको समस्या व्यवसायीले झुठको कारोवार गर्दामात्र हुने भएकाले यसमा सच्चिन पनि व्यवसायीलाई आग्रह गरेका थिए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालीसेको अध्यक्षता भएको कार्यक्रममा नेपाली काँग्रेस दाङका सहसचिव राज आचार्य, नेकपा एमालेका जिल्ला सदस्य मानबहादुर रावत, नेकपा समाजवादीका चुर्णबहादुर वली, देशभक्त जनगणतान्त्रिक मञ्चका अध्यक्ष इश्वरी प्रसाद गैरे, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विरु रावत, पत्रकार खेमराज रिजाल लगायतले बोलेका थिए ।
सधारण सभामा संघको प्रगति प्रतिवेदन महासचिव विनिल केसीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवबहादुर केसीले प्रस्तुत गरेका थिए । साधारणसभामा तुलसीपुर क्षेत्रमा सफल संघ संस्था पत्रकार तथा व्यवसायीहरुलाई सम्मान गरिएको थियो । पत्रकारहरुको तर्फबाट गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाललाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र शाह, गणेश टेण्ट हाउसकी सञ्चालक सिन्धुली श्रेष्ठ, स्वर्गद्वारी एग्री नेपाल प्रा.लि तुलसीपुरका सञ्चालक माधव केसी, गुडहिल छाला जुत्ता उद्योग तुलसीपुरका सञ्चालक पदमबहादुर सार्की नेपालीलाई सम्मान गरिएको थियो ।
त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघको तर्फबाट राप्ती बबई क्याम्पसमा म्यानेजमेन्ट तर्फका हरिबहादुर केसी, श्रृजना चौधरीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै लिलाकालु छात्रवृत्ति अक्षयकोष मार्फत विएड तर्फका भरत विक, चन्द्रगङग विक, भावना गिरी, तुलसी वली, बाल उदय छात्रवृत्ति अक्षयकोष मार्फत अनिता बुढाथोकी, खड्कबहादुर राना, अनिता बुढाथोकी, मिना खनाल, डिलरत्नी छात्रवृत्ति अक्षयकोष मार्फत नरेश डाँगी र अनिता बुढाथोकीलाई पुरस्कृत गरिएको थियो ।
वाणिज्य उपाध्यक्ष मिनराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव विनिल केसीले गरेका थिए । यसैबीच बन्दसत्रले महासचिव विनिल केसी र कोषाध्यक्ष देववहादुर केसीका प्रतिवेदन सर्वसम्मत पारित गर्दै आगामि बार्षिक कार्ययोजना पनि अनुमोदन गरेको छ ।