राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

दाङ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्ती गाउँपालिका संगठन कमिटीको आयोजनामा वडा नम्बर २ मा रहेको महिला भवनमा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका अध्यक्ष स्यामेस चौधरीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य दामा शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथिको आसनबाट बोल्दै नेतृ शर्माले २०६४ को चुनावलाई सम्झदै नयाँ जोस र जाँगरका साथ आसन्न स्थानीय चुनावमा गठबन्धन बिना विजयको झण्डा फहराउन कार्यकर्तालाई निर्देशन दिएकी थिइन्।

उक्त कार्यक्रममा नेतृ शर्माले संविधान, लोकतन्त्र र माओवादी पार्टीको बलमा स्थापित एजेन्डा बचाउनको लागि काङ्ग्रेससँग गठबन्धन गर्नु परेको जिकिर गरेकी थिइन्। देश अहिले माओवादीको एजेन्डामा चलेको बताउँदै कार्यकर्तालाई कत्तिपनि निरास नहुन आग्रह गरेकी थिइन् ।

तीनै तहको निर्वाचनसम्म गठबन्धन राखिरहने बताउदै नेतृ शर्माले हरेक पालिकामा आवश्यकताअनुसार गठबन्धन हुने बताएकी छिन्।

उक्त कार्यक्रममा आफ्नो भनाइ राख्दै पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा दाङ निर्वाचन नम्बर एकका इन्चार्ज लुम बहादुर कार्की, लुम्बिनी प्रदेश कमिटी सदस्य प्रमिता चौधरी, दाङ जिल्ला सचिव बिश्वराज आचार्य, राप्ती इन्चार्ज चित्र बहादुर थापाले आसन्न निर्वाचन जसरी पनि जित्नु पर्ने बताउदै नयाँ कार्यक्रम र योजना जनता लिएर जान कार्यकर्तालाई आग्रह गरेका थिए।

गाउँपालिका संगठन कमिटी उपाध्यक्ष रण बहादुर पुजालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पार्टी सचिव तुला गिरीले गरेका थिए।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस