
बेलझुण्डी । वालवालिकालाई शारीरिक श्रममा लगाउनु कानुनी रुपमा दण्डनीय अपराध हो । वालवालिकालाई माया गरौं, उनीहरुलाई श्रममुक्त बनाएर राम्रो शिक्षा दिक्षा दिऔं भन्ने अभियान लिएर तुलसीपुर उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयले वडावडामा वहस पैरवी एवं अन्तरक्रियाको अभियान थालेका छन् ।
यसै अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिका महिला तथा वालवालिका शाखाको आयोजना तथा इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा बेलझुण्डी विश्वविद्यालयको एउटा सभाहलमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका—१८ का वडा सदस्य धनबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले आफ्ना घर परिवारमा अझै पनि कहिँकतै वालवालिकाहरुलाई श्रममा लगाएको अवस्था रहेको भन्दै उनीहरुलाई मुक्ति दिलाएपछिको दायित्व कसले लिने भन्ने सन्दर्भमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले वालश्रम उन्मुलनका लागि आफुहरुले हरतवरले राज्यलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै अभिभावकविहीन वालवालिका र वेसहारा वालवालिकाहरुलाई राज्यले जिम्मा लिएर पठनपाठन र पालनपोषणको जिम्मा लिनुपर्ने पनि सुझाव दिएका थिए ।
तुलसीपुर उपमहानगरपालिका महिला, वालवालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले कार्यक्रममा विषय प्रवेश गराउँदै वालवालिकाले राम्रो प्रगति गर्दा अभिभावकहरुले अपनत्व लिने गरेको स्मरण गर्दे उनीहरु बिग्रिएको अवस्थामा पनि सुधार्नका लागि जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिएकी थिइन् । माया दिएर मात्रै भविष्यका कर्णधार बनाउन सकिने भन्दै पढ्ने उमेरका वालवालिकाहरु कतै वालश्रममा रहेका छन् भनेर सबै मिलेर मुक्त गरौं भन्ने अभिव्यक्ति दिइन् ।
‘वालवालिकालाई सुधार्न ढिलो गरेर हुँदैन, आजैदेखि अभियानमा जुटौं, मायाले भनिन् वालवालिकाका कुनै न कुनै त अभिभावक हुन्छन् नै, यदि कसैको अभिभावकनै नभएको अवस्थामा उनीहरुलाई राज्यले व्यवस्थापन गर्ने छ’, मायाले भनिन् । आजका वालवालिकाहरुलेनै भोलि मुलुक चलाउने भएकाले उनीहरुलाई दक्ष बनाउनु हामी अग्रजहरुको प्रमुख दायित्व भएको पनि उनको भनाइ थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्सपेक्टर झलक प्रसाद शर्माले वालवालिकाहरु दुर्व्यसनीका कारण पढ्ने अवसरबाट समेत बन्चित भएको तथा पारिवारिक हिंसाको अवस्था सृजना भएको बताए । साथै उनले आफ्नो बच्चा कुलतमा लागेको छ भने त्यसबाट मुक्त बनाउनका लागि प्रहरीसँग साझेदारी र सहकार्य गर्न पनि उनले अभिभावकहरुलाई सुझाव दिए ।
साथै उनले वालवालिकाहरुप्रति माया देखाएर उनीहरुलाई वालश्रम मुक्त बनाउन पनि आग्रह गरेका थिए । त्यस्तै उनले वालश्रम, वालविवाह र लागुऔषध दुर्व्यसनी सम्बन्धी विद्यमान कानुनी व्यवस्थाका विषयमा पनि जानकारी दिएका थिए । प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाका १९ वटै वडामा यस्ता कार्यक्रमहरु भैरहेको पनि उनले सो अवसरमा जानकारी दिएका थिए ।
उपमहानगरपालिकाले पनि नगरका सबै वडामा वालश्रमिकको अवस्थाका विषयमा तथ्यांक संकलन गरिरहेको जानकारी दिएको छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका—१८ का केहि विद्यालयका शिक्षक, टोलविकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय प्रहरी चौकीका सुरक्षाकर्मीहरु तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
तुलसीपुर उपमहानगरपालिकामा वडा नंवर ६ वालश्रममुक्त वडा घोषणा भैसकेको छ भने यसै वर्ष थप केही वडालाई वालश्रममुक्त घोषणाको अन्तिम तयारी भएको पनि तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।